टेकसिंह धामी, धनगढी । मंगलबार सुदूरपश्चिम एमाले संसदीय दलको बैठक दुइपटक स्थगित भएपछि आज पुनः बस्दैछ ।
हिजो बोलाइएको बैठकमा माधव नेपाल पक्षमै एक मत हुन नसकेपछि संसदीय दलको बैठक स्थगित गरिएको थियो ।
मंगलबार बिहान संसदीय दलको नेता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले आफ्नो पक्षका सांसदहरूलाई छलफलका लागि बोलाएका थिए ।
हिजो विहान ८ बजे दलको कार्यालय पुगेका केही सांसदहरू दलको नेता नै नआएपछि अनौपचारिक छलफल गरेर बाहिरिएका थिए । १२ बजेपछि पनि बैठक बसेन । आज बुधबार बिहान ८ः३० मा पुनः सांसदहरूलाई दलको कार्यालय बोलाइएको संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले बताए ।
मंगलबार नेपाल पक्षका सांसदहरूलाई मात्रै खबर गरिएको थियो भने वुधबार ओली पक्षका सांसदहरूलाई पनि खबर गरिएको छ ।
५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् ।
सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको छ ।
स्थायी कमिटीको बैठक पछि बस्न लागेको दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्थायी कमिटीले सरकारका समर्थन फिर्ता लिने निर्णय गरे पनि एमाले संसदीय दलको बैठकले यस सरकारलाई निरन्तरता दिने सम्भावना देखिएको छ ।
भीम रावलनिकट भएका कारण दलको नेता अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको नेपाल समूहकै केही नेताहरू बताउँछन् । तर, केही नेपाल पक्षकै सांसदहरू भने केन्द्रको निर्देशन पालना गर्नुपर्नेमा पक्षमा छन् ।
‘दलमा बहुमत सदस्यहरू नेपाल समूहका छन् त्यसैले स्थायी कमिटीको निर्देशन पालना नहुन सक्छ,’ एक सांसदले भने ‘आजको बैठकमा सरकारबाट फिर्ता हुने निर्णय नहुन सक्छ ।’
अहिलेसम्म दलको बैठकको एजेन्डाबारे सांसदहरूलाई जानकारी नगराइएको बताउदै सांसदहरूले भने यहि सरकारलाई अझै बलियो बनाउने बिषयमा बैठकमा छलफल हुने बताए ।
हाल सुदूरपश्चिम प्रदेशमा माओवादी र एमालेले संयुक्त रुपमा सरकार छ । माओवादीका तर्फबाट मुख्यमन्त्री सहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् भने एमालेको तर्फबाट अहिले ३ मन्त्री सरकारमा छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्ट रहेका छन् । शाहलाई मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि जिम्मेवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया