इजरायल-प्यालेस्टाइन युद्ध : दशकौँदेखिको निहुँ, होला त युद्धविराम ?

काठमाडौं –

इजरायल र प्यालेस्टाइनबीचको भिडन्तले फेरि एकपटक विश्व समूदायलाई तरंगित बनाएको छ । एक साता अघि शुरु भएको युद्धमा परि २ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन्। गाजामा मात्रै १९७ जनाको ज्यान गएको र जसमा ५८ बालबालिका तथा ३४ महिला रहेको बीबीसीले जनाएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार एक हजार २ सय भन्दा बढी प्यालेस्टीनी नागरिक घाइते भएका छन्।

अहिले इजरायलले प्यालेस्टाइनमाथि आक्रामक ढंगले हवाइ आक्रमण जारी राखेको छ भने गाजापट्टीमा शासन गर्ने हमास समुहले रकेट प्रहार गरिरहेको छ । इजरायल र प्यालेस्टाइनका आकाशमा बज्ने रकेट र हवाइ हमलाका साइरनहरुले सर्वसाधारण निकै त्रसित भएका छन्। साइरन बज्नासाथ उनीहरु बंकरमा गएर ज्यान जोगाउँदै आएका छन् ।

गत आइतवार मात्र इजरायलको हवाइ हमलामा एकै दिन ४२ जना प्यालेस्टाइनी नागरिकले ज्यान गुमाए । आक्रमणको निशानामा परी अलजजिरा, एसोसिएटेड प्रेस लगायत समाचार संस्था रहेको ११ तल्ले भवन ध्वस्त भए। इजरायली सेनाका अनुसार वितेको एक सातामा प्यालेस्टिनी विद्रोहीहरूले तीन हजारभन्दा बढी रकेट प्रहार गरेका छन्।

यता इजरायली प्रधानमन्त्री बेन्जामित नेतान्याहुले गाजास्थित प्यालेस्टिनी हमास लडाकुहरूविरुद्ध सैनिक कारबाही अझ कडाइका साथ जारी रहने बताएका छन् । हमासविरुद्ध चेतावनी दिँदै उनले शान्ति बहाली गर्न आवश्यक समयसम्मका लागि कारवाही जारी राख्ने बताएका छन्। प्रधानमन्त्री नेतान्याहुको यो अभिव्यक्ति पश्चात भिडन्त थप भड्कीएको छ। गाजा र इजरायलका लगभग सबै क्षेत्रमा हवाई आक्रमणहरू भइरहेका छन्। आफ्नो भूमिमा प्रहार हुने अधिकांश रकेट इजरायलले आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमार्फत् निष्क्रिय तुल्याउने गरेको छ।

इजरायल प्यालेस्टायनबीचको यो बमबारी २०१४ मा गाजामा भएको इजरायली युद्ध यताकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।

पछिल्लो भिडन्तको कारण

यो वर्षको मध्य अप्रिलमा शुरु भएको रमादान पर्वसँगै इजरायल र प्यालीस्टिनीहरूबीच तनाव चुलिएको हो । ईजरायल प्यालेस्टायनबीचको पछिल्लो भिडन्त प्यालेस्टीनी नागरिकको विस्थापन प्रसंगबाट शुरु भएको देखिन्छ । इजरायलको पूर्वी जेरुसलेम नजिकको रहेको शेख जर्राहबाट प्यालेस्टाइनी परिवारलाई जर्बजस्ती हटाइएपछि शुरु भएको विवादले लडाई शुरु भएको हो। ती परिवार बसेको जमिन यहुदीहरुको भएको भन्दै विभिन्न संस्थाहरुले मुद्धा दायर गरेका थिए ।

इजरायली अदालतले गत अक्टुवर २०२० मा प्यालेस्टाइनी परिवारलाई घर खाली गर्न आदेश दिएका थियो । त्यसका लागि अदालतले २ मे सम्मको समय दिएको थियो । तरपनि त्यहाँ रहेको चार परिवारले घर नछाडेपछि अदालतले दुई पटक थप समय दिएको थियो । तैपनि उनीहरुले घर नछाडेपछि गत साता उनीहरुलाई जवरजस्ती घरबाट निकालियो । त्यसक्रममा प्यालेस्टाइनी र इजरायली प्रहरीबीच झडप समेत भएको थियो । आपूmहरुलाई घरबाट निकालिएको भन्दै उनीहरुले अहिले इजरायलको सर्वोच्च अदालतमा उजूरी दिएका छन् । यो परिवारले सन् १९७२ देखि विभिन्न संघसंस्थाको मुद्धा सामना गरीरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

प्यालेस्टाइनी परिवारलाई जर्बजस्ती निकालिएको विरोधमा ईस्लाम समूदायको तेस्रो ठूलो अल अक्सा मस्जिद परिसरमा रमादानको अन्तिम शुक्रबार प्रार्थना गर्नका लागि उपस्थित भएका दशौँ हजारले विरोध प्रदर्शन गरे।

विरोध प्रदर्शनका क्रममा प्रहरीले रबरको गोली र स्टन ग्रिनेडहरु प्रहार गरेको थियो भने प्रदर्शनकारीहरुले ढुंगामुढा प्रहार गरेका थिए । घटनामा २ सय ५ जना प्यालेस्टाइनी र १७ जना इजरायली अधिकारीहरु घाइते भएका थिए ।

त्यसपछि प्रार्थनमा रहेकाहरुमाथि अल अक्सा कम्पाउन्डमा नै इजरायली प्रहरीले रबरको गोली, टियर ग्याँस र स्टन ग्रिनेड प्रहार गरियो । सोही क्रममा ३ सयभन्दा धेरै प्यालेस्टाइनी नागरिक र २० भन्दा धेरै इजरायली अधिकारी घाइते भए । इजरायली प्रहरीको दमनविरुद्ध हमासले चेतावनी दिँदै अल अक्सला परिसर र सेख जर्रा वरपरबाट साँझ ६ बजेसम्म आफ्ना सुरक्षाकर्मी हटाउन अल्टिमेटम दिएको थियो । यसरी नै पछिल्लो भिडन्त शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?