जसपामा सांसद तानातान : ठाकुर र महतोले गराए खाली कागजमा सही

लोकपथ
420
Shares

काठमाडौ–प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई जोगाउने कि हटाउने भन्ने विवाद चर्किएका बेला जनता समाजवादी पार्टीका दुबै पक्ष आ–आफ्ना तर्फ बहुमत जुटाउन लागेका छन् ।

अध्यक्ष उपेन्द्र यादव पक्षले आफूहरुसँग पार्टीको बहुमत कार्यकारिणी सदस्य र सांसद रहेको दाबी गरेपछि अध्यक्ष महन्थ ठाकुर पक्षले पनि कार्यकारिणी सदस्य र सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएका छन् । ठाकुर पक्ष ओली सरकार हटाउनु हुदैन भन्ने पक्षमा छ भने यादव पक्ष ओलीले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम चालेको भन्दै कुनै पनि हालतमा ओलीलाई समर्थन गर्नु हुँदैन भन्ने पक्षमा छ ।

कति छन त जसपामा कार्यकारिणी सदस्य र सांसद ?

जसपामा कार्यकारिणी सदस्य ५१ जना छन् भने प्रतिनिधि सभामा सांसद संख्या ३४ छ । ३४ मध्ये २ जना सांसद निलम्वनमा परेका छन् । यादव र ठाकुर पक्षले कार्यकारिणी सदस्य र सांसद आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् । ठाकुर पक्षको कार्यकारिणी सदस्य संख्या यकिन भएको छैन । तर यादव पक्षले पार्टी हित विपरित काम गरेको भन्दै लुम्विनी प्रदेश सभाका ४ जना सांसदलाई बहुमतका आधारमा पदबाट हटाइसकेको छ । त्यसकारण अहिलेको अवस्थामा कार्यकारिणी समितिका यादव पक्षको बहुमत देखिएकोछ । फेरि सोमबार ठाकुर पक्षले खाली कागजमा गराएको हस्ताक्षरमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेको छ । उता सांसद पनि आफ्नो पक्षमा निलम्बनमा परेका बाहेक १८ जना रहेका यादव पक्षको दाबी छ । यसमा अरु केही सांसद आफूतिर थपिने यादव पक्षको अनुमान छ । जसपमा पूर्व राजपा पक्षका सांसदले समेत ठाकुरलाई सहयोग नगर्ने पूर्व राजपाका एक नेताको भनाई छ । तर राजनीति हो यसै भन्न सक्ने अवस्था भने छैन । जसपाका एक नेता भन्छन् आफूलाई समर्थन गर्ने भएपछि प्रधानमन्त्री ओलीले पनि ठाकुर पक्षमा बहुमत पुर्‍याउन  सहयोग गर्नेछन् । त्यो भनेको सांसद किनबेच वा सत्ताको प्रलोभन हो ।

पूर्व राजपाभित्रै असन्तुष्टि

अध्यक्ष ठाकुरले पार्टी कार्यालय बबरमहलमा बोलाएर सोमबार प्रयोजन नखुलाई खाली कागजमा हस्ताक्षर गराएको भन्दै पूर्व राजपा पक्षका कार्यकारिणी सदस्य र सांसदहरुले असन्तुष्टि जनाएका छन् । जुनसुकै बेला पनि आवश्यक कदम चाल्नु पर्ने अवस्था आउन सक्ने भन्दै ठाकुरले हस्ताक्षर संकलन गरेका बताइएको छ । ठाकुरलाई नेता राजेन्द्र महतोले साथ दिएका छन् । प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिन लागिरहेको अवस्थामा जसपामा भने आन्तरिक बिवाद उत्कर्षमा पुगेको छ ।

जसपामा कसको पक्षमा कार्यकारिणी सदस्य र सांसदको बहुमत पुग्ने हो त्यो भने हेर्न केही दिन पर्खनु पर्ला । किनकि दुवै पक्ष आ–आफ्ना तर्फ बहुमतका लागि कसरतमा छन् । दुबै पक्ष आ–आफ्ना अडानमा रहँदा पार्टी फुट्ने त हैन भन्ने आशंका पनि उत्तिकै छ । दुवै पक्ष प्रतिष्ठाको लडाइमा होमिएका छन् । प्रधानमन्त्री ओलीले गत वर्ष तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीलाई अध्यादेश मार्फत विभाजन गर्न खोजेको भन्दै दुबै पार्टीबीच रातारात एकिकरण भएको थियो । फेरि प्रधानमन्त्री ओलीकै कारण फुटको डिलमा पुग्न लागेको अनुमान गरिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?