लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक भन्दै कांग्रेसको निन्दा

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको मुख्यमन्त्री चयन प्रक्रियालाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै निन्दा गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार साँझ एक विज्ञप्ति जारी गरी लुम्बिनी प्रदेशको समग्र घटनालाई पार्टीले गम्भिरतापूर्वक लिएको बताएका हुन् । उनले लुम्बिनी प्रदेशमा अलोकतान्त्रिक र असंवैधानिक रुपले मुख्यमन्त्री चयन गरिएको भन्दै संविधानको उल्लंघन, बलमिच्याई र अलोकतान्त्रिक प्रवृत्तिको निन्दा र भत्र्सना गरेका छन् ।

नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको अवस्थामा पुनः मुख्यमन्त्री नियुक्त गरिनु राजनीतिक, नैतिक र संवैधानिक कुनैपनि कोणबाट तर्कसंगत नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ । नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजिनामा गरेको अनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मुल्य, मान्यता विपरितको व्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक रहेको कांग्रेसको ठहर छ ।

अविश्वासको प्रस्ताव निष्कर्षमा नपुराई राजिनामाको नाटक गरी प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन भएको देउवाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेशमा केन्द्रमा जस्तै अधिनायकवादी चरित्रको अर्को संस्करण भएको बताईएको छ ।
जारी विज्ञप्तिमा बलमिच्याइले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारु गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न चेतावनी पनि दिईएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?