काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेको एकल बहुमतको सरकारको मुख्यमन्त्री बन्न पदबाट राजीनामा दिएका छन् ।
पोखरेलले आज बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका र यादवले राजीनामा समेत स्वीकृत गरिसकेका छन् । संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा बुझाएका बताइएको छ ।
बैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए ।उक्त अविश्वास प्रस्ताव ल्याइएपछि आज प्रदेश सभाको बिशेष अबिधेशन बोलाइएको छ । अविश्वास प्रीताव छलफलका लागि आजै प्रदेश सभामा पेश हुने बताइएको छ । तर त्यस अघि पोखरेलले राजीनामा दिएका हुन ।
मुख्यमन्त्री पोखरेलको चलाखी :
आफूविरुद्ध अविश्वास प्रस्ताव आएपछि एमालेको एकल बहुमतको सरकार बनाउन पोखरेलले राजीनामा दिएका एक एमाले नेताले बताए । लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ । ८७ सदस्यीयमध्ये जनता समाजवादीका ४ जना र माओवादी केन्द्रका २ जनाको सांसद पद खारेज भैसकेको छ ।

अब प्रदेश सभामा ८१ जना सांसद छन् । लुम्बिनीमा सरकार बनाउनका लागि ४१ जना सांसद चाहिन्छ एमालेका ४१ जनानै सांसद छन् । कांग्रेस माओवादी जसपा र जनमोर्चा गरेर बिपक्षमा ४० जनामात्रै छन् । त्यसकारण लुम्बिनीमा एमालेकै सरकार बन्छ । तर ४१ मध्ये २ जना वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद रहेका छन् ।
उनीहरुलाई अविश्वास प्रस्तावमा कसरी फ्लोर क्रस गर्न बाट रोक्ने र आफू पुन एमालेको एकल बहुमतको मुख्यमन्त्री बन्ने भन्ने उद्येश्यले पोखरेलले राजीनामा दिएका बताइएको छ । कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावमा नेपाल पक्षका ४ जना सांसदले फ्लोर क्रस गरेर शाहीको सरकार जोगाएका थिए ।
पोखरेलले त्यही शंकाले राजीनामा दिएका बताइएको छ । मुख्यमन्त्री पोखरेलको राजीनामासँगै अविश्वास प्रस्तावका वारे छलफल हुने कि नहुने भन्ने अन्यौल कायम भएको छ । प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्दैछ । पोखरेलले राजीनामा दिएसंगै जसपाको तर्फबाट मन्त्री बनेर कारवाही भोगेका ४ जना पनि अन्योलमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया