महाभारतीय आख्यानमा आधारित उपन्यास ‘विवर्तन’ विमोचन

लोकपथ
0
Shares

काठमाडौं । महाभारतकी पात्र पृथा (कुन्ती)लाई मुख्य पात्र बनाएर लेखिएको टेकनाथ दहालको उपन्यास ‘विवर्तन’विमोचन गरिएको छ ।

आज शनिवार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा कवि विष्णु विभु घिमिरे, समालोचक डा. लक्ष्मण प्रसाद गौतम, डा. ज्ञानु पाण्डे र लेखक दहालले उपन्यास विमोचन गरे ।

पुस्तक माथि बोल्दै समालोचक डा. लक्ष्मण प्रसाद गौतमले महाभारत विशाल सागर भएकाले यसबाट जति पनि उप कथा झिक्न मिल्ने बताए । ‘विवर्तन उपन्यासमा महाभारतमा नभनिएका सूक्ष्म घटनासमेत रोचक शैलीमा भनिएको छ’गौतमले भने, ‘महाभारतको सामान्य ज्ञान भएका पाठकलाई विवर्तनले आकर्षित गर्नेछ ।’

यस्तै समालोचक ज्ञानु पाण्डेले महिलाको सत्व महिलामै निहीत रहेको कुरा उपन्यासले उठाएको बताइन् । ‘महिलाले भोग्ने विषयभनेर गरिएको सामाजिक परिभाषाको विपक्षमा यो उपन्यास उभिएको छ’पाण्डेले भनिन्, ‘महाभारतकी कुन्तीको कथालाई आजको युगीन शैलीमा भन्न लेखक सफल छन् ।’

प्रमुख अतिथि कवि विष्णुविभु घिमिरेले वर्षको शुरुमै पठनीय उपन्यास प्रकाशन भएको भन्दै लेखकको कल्पनाशीलताको प्रशंशा गरे ।

बाल्मिकी क्याम्पसमा उपप्राध्यापक रहेका लेखक दहालको ‘विवर्तन’पहिलो उपन्यास हो । ‘इन्डिगो इन्क’ले प्रकाशन गरेको उपन्यासको मूल्य ३ सय ९९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?