कमला अर्याल /काठमाडौं । बीमा अभिकर्ताले लिने कर्जासम्बन्धी अध्ययन गरेको बीमा समितिले बिना धितो करोडौँ कर्जा लिने गरेको फेला पारेको छ ।
यसअघि बीमा अभिकर्ताहरुले बीमकबाट मनपरी कर्जा लिने गरेको गुनासो आएपछि समितिले अभिकर्ताका कर्जासम्बन्धी फाइल नै मगाएर अध्ययन गरेको थियो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले स्वयम् अभिकर्ताका कर्जासम्बन्धी फाइलहरु अध्ययन गरेका थिए। सो अध्ययनमा धेरै कैफियत देखिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बताए । प्रारम्भिक अध्ययनमा बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई नियम विपरित करोडौँ कर्जा दिएको भेटियो ।’ उनले भने ।
अभिकर्ताहरुले नियम विपरित कर्जा लिएर दुरुपयोग गरेको उजुरी समितिमा परेपछि समितिले अध्ययन थालेको कार्यकारी निर्देशक पौडेलले बताए ।
प्रारम्भिक अध्ययनमा अन्य समस्या पनि देखिएका छन्। यी समस्याहरु के हुन् भन्ने बारेमा समितिले तत्काल खुलाउन चाहेन। ‘ समिति अझै अध्ययनकै क्रममा छ ।’ पौडेलले भने । सबै अध्ययन सकेर दोषीलाई के कारवाही गर्न सकिन्छ भन्ने तय गरिने उनले बताए ।
समितिले अभिकर्ताले कर्जाको दुरुपयोग गरेपछि कर्जाको सीमा घटाउने विषयमा यसअघि नै छलफल गरिसकेको छ ।
बीमा कम्पनीहरुले एउटै अभिकर्तालाई बिना धितो नै करोडौंको कर्जा दिने गरेको देखिएपछि समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अभिकर्ताको कर्जाको फाइल नै मगाएर अध्ययन गरेका थिए । अध्ययनका क्रममा समितिले बीमा कम्पनीलाई कुन आधारमा बिना धितो करोडौँ कर्जा उपलब्ध गराइएको हो भनेर सोधेको थियो ।
समितिले सबै बीमा कम्पनीहरुबाट अभिकर्ताले लिएको कर्जाको फाइल संकलन गर्न निर्देशन समेत दिएको थियो । अधिकांश बीमा कम्पनीहरुको अध्ययन गर्दा अभिकर्तालाई करोडौं कर्जा दिएको फेला परेको हो । समितिले कर्जामा सीमा तोक्ने वा अन्य के विकल्प खोज्ने भन्ने विषयमा टुंगो लगाउने बाँकी नै छ।
पछिल्लो समय बीमा कम्पनीका शाखा प्रमुख तथा अभिकर्ता स्वयंले कर्जा प्रवाहको लक्ष्य पूरा गर्न अभिकर्तालाई नै कर्जा प्रवाह गर्ने तथा धेरै पोलिसी बिक्री गरेको हिसाव देखाउने गरेको गलत अभ्यासको सुँइको पाएका अध्यक्ष सिलवालले त्यस्तो विकृति न्यूनिकरण गर्न अधिकर्ताको कर्जा सम्बन्धी फाइल नै मगाएर अध्ययन गरेका थिए ।
बीमा कम्पनीहरुले यस्तो गलत अभ्यास गरेर आफ्नो व्यपार व्यवसाय बढाइरहेकाले समितिले कडाई गरेको हो। अभिकर्ताले कम्पनीको व्यवसाय पनि राम्रो देखिने र आफूलाई पनि राम्रो कमिशन आउने भएपछि यस्ता काममा लागेको देखिन्छ । त्यसका साथै अभिकर्ताले आफ्ना नजिकका आफन्तलाई समेत बीमा पोलिसी बेच्ने र उनीहरुलाई पनि करोडौँको कर्जा दिलाइदिने गरेको अध्ययनमा खुलेको छ । यस्तो विकृति रोक्न समिति कडा रुपमा उत्रिने कार्यकारी निर्देशक पौडेलको भनाई छ।
यस विषयमा केही सयअघि समितिले बीमा कम्पनीहरुसँग छलफल पनि गरेको थियो । सो छलफलमा अध्यक्ष सिलवालले एउटै अभिकर्तालाई ५/१० करोड सम्मको ठुलो प्रकृतिको कर्जा के का आधारमा दिएको भन्ने प्रश्न समेत गरेका थिए ।
साथै उनले ऐन नियमभन्दा बाहिर गएर कर्जा प्रवाह नगर्न तथा ऐनमा तोकिएको १८ प्रतिशत भित्रै रहेर काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन समेत दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया