काठमाडौं । बागमती प्रदेश सभाको सातौँ अधिवेशन बैठक यही चैत २४ गते दिनको १ बजे पुनःबस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार गत माघ ७ गतेदेखि शुरु भएको सातौँ बैठक मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि माघ ९ गते छलफल गरी स्थगन गरिएको थियो ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज आइतवार बसेको कार्यपरामर्श समितिको बैठकले सदन बोलाउने निर्णय गरेको जानकारी दिए । उनले पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावसम्बन्धित पक्षले फिर्ता लिएको विषयमा जानकारी दिने तथा सार्वजनिक सडक र सरोकारसँग सम्बन्धित विधेयक २०७७ र प्रदेश पर्यटन विधेयक २०७७ माथि छलफल प्रारम्भ हुने बताए ।
मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावक अरुणकुमार नेपालसहित समर्थक भएका सदस्यले चैत १७ गते अविश्वासको प्रस्ताव फिर्ता लिने भन्ने निर्णय भए अनुसार वाग्मती प्रदेशसभा सचिवालयमा १८ गते अपराह्न प्रस्ताव फिर्ता लिएको सूचना दर्ता गरिएको थियो ।
प्रदेशसभामा तत्कालीन सत्तारुढ दल नेकपाको ८० सदस्य भएका भए पनि हालै सर्वोच्च अदालतको फैसला अनुरुप अहिले सत्तारुढ नेकपा एमालेमा ५७, प्रमुख प्रतिपक्ष दलका रुपमा नेकपा माओवादी केन्द्रमा २३ र नेपाली कांग्रेस २२ तेस्रो ठूलो दलका रुपमा स्थापित भएको छ । यसैगरी साझा विवेकशील दलतर्फ, नेपाल मजदूर किसान पार्टी दुई, राप्रपाको दुई र एक स्वतन्त्र सांसद गरी कूल ११० प्रदेशसभाका सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया