भारतद्वारा हुलाकी राजमार्गको १३ वटा खण्ड नेपाललाई हस्तान्तरण

काठमाडौं । भारतीय सरकारसँगको सहकार्यमा बनेको हुलाकी राजमार्गको १३ वटा खण्ड निर्माण सम्पन्न भइ हस्तान्तरण गरिएको छ ।

बुधवार भौतिक योजना तथा यातायात मन्त्रालयमा आयोजना भएको एक कार्यक्रमका बीच नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई निर्माण सम्पन्न भएका सडकखण्डहरु हस्तान्तरण गरेका हुन् ।

कूल १ हजार ८ सय ५७ किलोमिटर लम्बाई भएको हुलाकी राजमार्गको २ सय ७३ किलोमिटर आज हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका दौरान बोल्दै भारतीय राजदूत क्वात्राले नेपालसँग रोटीबेटीको सांस्कृतिक सम्बन्ध रहेकाले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने बताएका छन् ।

सञ्चालन हुने अवस्थामा रहेको जनकपुर–जयनगर रेलका लागि भारत सरकारबाट प्राविधिक र जनशक्ति सहयोग भएको र रक्सौल–काठमाडौं रेलमार्गका लागि डिपिआर तयार गर्ने काम पनि भारतीय सहयोगमा भइरहेको पनि राजदूत क्वात्राले बताए ।

हुलाकी राजमार्गको निर्माण लामो समयदेखि अड्किएर बसेको भएपनि निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?