सप्तरी । शिशु बालिकालाई जचाउन अस्पताल गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ ।
उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा.राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही अस्पतालमा बुधवार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुव्र्यहार गरेको आरोपमा डा. जैसवाललाई पक्राउ गरिएको हो ।
अस्पतालले समेत तत्कालै डा.जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।
डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एकपटक भेट्नु भनेर डा.जैसवालले भनेअनुसार पुगेकी महिलाले बालिका जाँच्ने बहानामा आफ्नो पेट सुम्सुम्याएको, संवेदनशील अङ्ग छुनुका साथै चलाएको र अन्तमा ब्लाउजको टाँक नै खोलेर अश्लिल क्रियाकलाप गर्न लागेपछि प्रतिकार गरेको बताउनुभयो ।
डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औषधि लेखेर डा.जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर केबिनभित्र अश्लिल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताउनुभयो । डा जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताएका थिए ।
पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया