काठमाडौं । नेकपा (एमाले)ले माधवकुमार नेपालसहित चार नेतालाई आज पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरण सोधेको छ । नेता भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे र घनश्याम भुसाललगायतलाई पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरणका लागि आज पत्र पठाइएको एमाले कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।
उनका अनुसार महासचिव ईश्वर पोखरेलले चारै नेतालाई स्पष्टीकरण सोधी पत्र पठाएका थिए । यही चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विपरीतका गतिविधि गरेको जनाउँदै ती नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीहरु चारै जनालाई तीन दिनभित्र लिखित जवाफ पठाउन भनिएको उनले बताए ।
स्पष्टीकरणको पहिलो नम्बर बुँदामा साविकको नेकपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध १० पृष्ठ लामो प्रस्ताव ल्याउनुका साथै त्यसलाई पुस्तकाकारमा प्रकाशित गरेर वितरणमा प्रचण्डको मतियार किन भएको भनी प्रश्न गरिएको छ । नेकपाको विधानविपरित सडकबाट ओलीलाई अध्यक्ष र साधारण सदस्य समेतबाट के आधारमा निष्काशनको निर्णय गर्नु/गराउनु भयो भनी दोस्रो बुँदामा सोधिएको छ ।
यसैगरी निर्वाचन आयोगमा पार्टी विधान र हित विपरित किन निवेदनहरु दिएको पनि तेस्रो बुँदामा सोधिएको छ भने चौथो बुँदामा पार्टी फुटाउने उद्देश्यले पार्टीको नाम, चिन्ह र झण्डासमेत कुनै एउटा समूह वा गुटले मात्र गर्ने उद्देश्यका साथ निवेदन बोकेर किन निर्वाचन आयोगमा पुग्नुभयो भन्ने प्रश्न गरिएको छ । साथै पार्टी फुटाउँदा कुन उद्देश्य हासिल हुने हो भनी प्रश्न समेत गरिएको छ ।
पार्टी अध्यक्ष र महासचिवले दिएको निर्देशनविपरित राष्ट्रिय भेला र समानान्तर गतिविधि किन गरिएको भन्ने प्रश्न पाँचौ बुँदामा गरिएको छ भने सरकारविरुद्ध पुस ५ गते अविश्वासको प्रस्ताव दर्ता गर्नमा पनि लागिपरेको भन्ने प्रश्न समेत छैटौं बुँदामा गरिएको छ ।
यस्तै सातौं बुँदामा भेला तथा समानान्तर गतिविधि गरी पार्टी एकता विरोधी गतिविधि गर्नुको कारण माग गरिएको छ भने आठौं बुँदामा ओली सरकार ढालेर अन्य दलको नेतत्वमा सरकार बनाउन षड्यन्त्र गर्नुको कारण पनि माग गरिएको छ ।
यस्तै बुटवलमा प्रचण्डले माधव नेपालले एमाले कब्जा गरेर आउने भनी दिएको अभिव्यक्तिमा उनी मौन बस्नुको कारण माग गरिएका छ भने दशौं नम्बरमा यी र यस्ता पार्टी हितविपरितका गतिविधि के कति कारणले निरन्तर गर्नुपरेको हो भनि प्रश्न गरिएको छ ।
नेपाललाई १० बुँदे प्रश्नसहितको स्पष्टीकरण ३ दिनभित्र बुझाउन निर्देशन दिइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले गत फागुन २३ गते मान्यता नदिई एमाले र नेकपा (माओवादी केन्द्र)लाई पहिलेकै अवस्थामा ब्युँताएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता नेपालबीच तीक्तता पैदा भएको छ । नेता नेपाललगायत नेता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध उभिएका थिए ।
एमाले ब्युँतिएपछि फागुन २८ गते बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रका नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणिचन्द्र थापालगायत २३ जनालाई केन्द्रीय सदस्यमा आफ्नो सहभागिताविना मनोनयन गरिएको भनी नेपाल समूह असन्तुष्ट हुँदै आइरहेको छ । नेपाल समूहले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया