भारतमा मंगलवार मात्रै २८ हजार ९०३ जनामा कोरोना संक्रमण

काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज (बुधवार) दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना संक्रमित भएका हुन् ।

यसअघि एक दिनमा संक्रमितको संख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरु भएयताको नै सब भन्दा बढी हो ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड १४ लाख ३८ हजार ७२४ पुगेको सो मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये दुई लाख ३४ हजार ४०६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १० लाख ४५ हजार २८४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा कोरोना संक्रमणबाट १८८ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या एक लाख ५९ हजार ४४ पुगेको बुधवार जनाइएको छ । भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म तीन करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मंगलवारसम्म भारतमा २२ करोड ९२ लाख ४९ हजार ७८४ जनाको कोरोना परीक्षण गरिएको छ । मंगलवार एकै दिनमा नौ लाख ६९ हजार २१ जनाको कोरोना परीक्षण गरिएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?