बेलायतका ड्यूक र डचेस अफ ससेक्स ह्यारी र मेघनले हालै एक टेलिभिजनमा दिएको अन्तर्वार्ताले अहिले विश्वभरि सनसनी मच्चाएको छ । टेलिभिजन दुनियाकी प्रसिद्ध ‘होस्ट’ ओप्रा विन्फ्रेले लिएको उक्त अन्तर्वार्ता गत सोमवार राति आइटिभीमा प्रसारण भएको हो ।
यस बहुप्रतिक्षित अन्तर्वार्ताको पर्खाइमा रहेका विश्वभरिका तमाम दर्शकमाझ यहाँ भएका कुराकानीले थुप्रै रहस्योद्घाटन गरेको छ । दरबारभित्र हुने जातीय विभेद, अन्य सदस्यहरुसँगको सम्बन्ध लगायत मानसिक स्वास्थ्यसम्मका संवेदनशील विषयहरुमा कुराकानी भएको छ । अन्तर्वार्ताबाट बेलायत दरबार र त्यहाँ बसोबास गर्नेहरुका बारेमा खुलासा भएका केही नयाँ र रोचक कुराहरु तल संक्षिप्त रुपमा दिइएको छः
‘ह्यारी र मेघनको बच्चा कति कालो हुनेछ ?’
अन्तर्वार्ताबाट खुल्नमा आएको सबैभन्दा अचम्मलाग्दो कुराहरुमध्ये एक यो हो कि जब मेघन पहिलो पटक गर्भवती भएकी थिइन् तब दरबारभित्र ह्यारी र मेघनको बच्चा कतिको कालो हुन्छन् भन्ने विषयमा समेत चर्चा भएको थियो ।
मेघनका अनुसार यो विषयमा ह्यारीसँग कुरा गरिएको थियो । तर, दुवैजनाले कुरा गर्ने मान्छेको नाम भने खुलाउन चाहेनन् ।
‘यस बारेमा भएको कुराकानी म शायदै कहिले शेयर गर्छु होला,’ अन्तर्वार्तामा बोल्दै ह्यारी भन्छन्, ‘त्यसवेला मलाई निकै अप्ठेरो लागेको थियो अनि अलि अचम्म पनि ।’

‘केटले मेघनलाई रुवाएकी थिइन्’
केही वर्षअघि पत्रपत्रिकाहरुमा एउटा समाचार व्यापक रुपमा प्रवाह भयो । जसमा बताइएअनुसार ह्यारी र मेघनको विवाह समारोहको केही दिनअघि ‘फ्लावर गर्ल’को कपडा फिटिङ गर्ने क्रममा मेघनका कारण केट(ह्यारीका दाजु प्रिन्स विलियम्सकी श्रीमती) रुनु परेको थियो ।
तर, अन्तर्वार्तामा यो समाचारलाई झुटो भएको बताउँदै मेघनले भनिन्, ‘खासमा समाचारमा बताइएको भन्दा ठीक उल्टो चाहिँ भएको थियो । केटका कारण म चाहिँ रोएकी थिएँ ।’
तर यसो भन्दै गर्दा आफूले केटलाई गलत मान्छे सावित गर्न नचाहेको र उनी वास्तवमा राम्रो मानिस भएको बताउँछिन् मेघन । त्यस घटनापछि केटले फूल र माफी माग्दै लेखिएको नोट प्रदान गरेर क्षमायाचना गरिसकेको पनि उनले खुलाइन् ।

मेघनका अनुसार उनी आत्महत्या गर्ने अवस्थामा पुगिसकेकी थिइन्
मेघनले विवाहपश्चात् राजपरिवारमा बस्दा कति एक्लो र बाँधिएको महसुस गरेको भन्ने बारेमा पनि कुरा गर्छिन् । उनले भनेकी छिन्, ‘म राजदरबारमा प्रवेश गरेको दिनदेखि त्यहाँबाट बसाई नसरुन्जेलसम्मको समयावधिमा मैले आफ्नो पासपोर्ट, ड्राइभर लाइसेन्स, चाबी आदि केही देख्न पाइनँ ।’
आफूमा यति धेरै मानसिक विचलन पैदा भइसकेको थियो कि बाँच्ने चाहना नै बाँकी नभएको मेघनले बताइन् ।
आफ्नो मानसिक स्वास्थ्य झन्झन् खस्कँदै गएपछि उनले राज संस्थासँग आफ्नो समस्या जाहेर गरेर त्यसको समाधानका लागि चिकित्सकीय सहयोग आवश्यक भएको समेत बताइन् तर संस्थाले उनको अनुरोधलाई ठाडै अस्वीकार गरिदियो । ‘संस्थाको नाम धमिलिन्छ’ भनेर ।
दरबारका सबैभन्दा ‘सिनियर’ व्यक्ति देखि एचआर विभागसम्म आफ्नो समस्या लिएर पुग्दा पनि कुनै पहलकदमी नचालिएको उनले बताइन् ।
ह्यारी र पिता चाल्र्सको सम्बन्ध
अन्तर्वार्तामा ओप्राले ह्यारीलाई दरबारका अन्य सदस्यसँग र विशेषतः उनका पिता चाल्र्ससँगको सम्बन्धका बारेमा प्रश्न गर्छिन् । जसमा ह्यारीले स्पष्ट रुपमा भन्छन् कि राजसंस्थाबाट आफू बाहिरिएपछि पिता चाल्र्सले उनको फोन उठाएका छैनन् ।
‘उहाँ पनि पहिले यस्तै अवस्थाबाट गुज्रिनु भएकाले मेरो पीडा उहाँले बुझ्नुपर्ने हो फेरि अहिले त उहाँको नाति पनि त छ,’ ह्यारी गुनासो पोख्छन् ।
‘यद्यपि, म अझैपनि उहाँलाई धेरै माया गर्छु र हामीबीचको सम्बन्ध सुदृढ गर्नलाई प्रयासरत रहनेछु,’ उनले भने ।
दाजु विलियम्ससँगको सम्बन्धका बारेमा भने ह्यारी सकारात्मक सुनिए । आफूहरुबीचको सम्बन्धमा कुनै परिवर्तन नआएको उनले बताए ।
रानी एलिजावेथसँगको सम्बन्ध कस्तो ?
आफ्नी हजुरआमा तथा बेलायतकी रानी एलिजावेथसँगको सम्बन्ध सुमधुर रहेको ह्यारीले बताए । दरबारबाट बाहिरिए देखि आफूहरुबीच पहिलाभन्दा झन् बढी कुरा हुन थालेको उनी बताउँछन् । रानी एलिजावेथले आर्ची(ह्यारी र मेघनका छोरा)सँग भिडियो कलमा कुरा गर्ने पनि उनले खुलाए ।
मेघनले पनि एलिजावेथको तारिफ गर्दै उनले आफूलाई केही सुन्दर गहना र ब्लांकेट उपहार दिएको बताइन् ।

ह्यारीलाई आर्थिक पाटोबाट पूर्णरुपमा ‘वर्जित’ गरिएको
सन् २०२० को पहिलो त्रैमासिकताका परिवारले आफूलाई कुनै आर्थिक सहयोग नगरेको ह्यारीले खुलाए । नेटफ्ल्क्सि र स्पोटिफाइसँग सहकार्य पनि आफ्नो भविष्यलाई सुनिश्चित गर्नका लागि गरेको उनले बताए ।
‘तर मसँग मेरो आमाले छोड्नुभएको सम्पत्ति छ त्यो नभएको भए आज हामी यसरी बस्न सम्भव हुँदैन थियो,’ ह्यारीले अन्तर्वार्ताका क्रममा भनेका छन् ।
राजसंस्थाको सम्पत्तिबाट वर्जित गरिएपछि उनीहरुलाई पछिल्लो वर्ष क्यानाडाबाट दक्षिण क्यालिफोर्नियामा बसाइ सर्दा अमेरिकाका धनाढ्य टायलर पेरीले घर र सुरक्षा प्रदान गरेको ह्यारी र मेघनले बताए ।
त्यो पल सम्झाउने त्यो तस्वीर
मेघनले जुन साँझ ह्यारीलाई आफूलाई ‘आत्महत्या’ गर्ने सोच आउने कुरा बताएकी थिइन् त्यही रात रोयल अल्बर्ट हलमा एक समारोहमा यी दम्पत्ति उपस्थित हुनुपर्ने थियो ।
त्यस रात खिचिएको एक तस्वीरले आफूलाई अझै पनि तरगिंत पार्ने मेघन बताउँछिन् किनकी त्यस तस्वीरले उनलाई त्यो क्षण सम्झाइदिन्छ ।
तस्वीरका बारेमा मेघन भन्छिन्, ‘त्यो तस्वीरलाई नियालेर हेर्ने हो भने ह्यारीले मेरो हातलाई कस्सिएर पक्रिएको देख्न सकिन्छ । हामी दुवैजना हाँसेका थियौं तर, भित्रभित्रै दुवैजनाले आफूलाई सम्हालिरहेका थियौं ।’
त्यस रात बत्ती निभ्नासाथ वा अँध्यारोमा कसैले नदेख्ने ठाउँमा पुग्नासाथ आफ्नो आँसु नथामिएको मेघनले खुलाइन् ।

विवाहअघि मेघनले राजपरिवारको बारेमा कुनै अनुसन्धान गरेकी थिइनन्
रानी एलिजावेथसँग पहिलो पटक भेटेको क्षण स्मरण गर्छिन् मेघन । त्यसवेला आफूलाई ‘कर्ट्सी’ अर्थात् महिलाले गर्ने औपचारिक अभिवादन गर्नुपर्छ भन्ने थाहा नभएको र थाहा भएपछि रानीलाई भेट्नुअघि आफूले हतारहतार अभ्यास गर्नुपरेको सम्झिन्छिन् उनी ।
त्यसवेला मेघनले ह्यारीलाई भनेकी थिइन्, ‘तिम्रो हजुरआमा त हो नि ।’
ह्यारीले भनेका थिए, ‘उहाँ रानी हो ।’
विवाहको तीन दिनअघि नै साटेका थिए ‘कसम’
लाखौं मानिस सन् २०१८ मा ह्यारी र मेघनको विन्डसोर महलमा भएको विवाहको साक्षी रहे । तर, उक्त समारोह उनीहरुको कानूनी विवाहको लागि मात्र भएको उनीहरुले बताए ।
त्यसको तीन दिनअघि नै उनीहरु आफ्नो घरको परिसरमा वैवाहिक कसममा बाँधिइसकेका थिए ।
ह्यारी र मेघन एकअर्कासँग समझदारीमा आएका थिए, ‘पर्सी गरिने विधि भनेको दुनियालाई देखाउन हो, हाम्रो एकता भनेको हामी दुईजनाको बीच हुनुपर्छ ।’
छोरा आर्चीको प्रिय वाक्य ‘ड्राइभ सेफ’
अन्तर्वार्ताका क्रममा ह्यारीले छोरा आर्चीको बारेमा पनि कुरा गरे । उनलाई बाइक राइडमा लिएर जान आफूलाई खुब मनपर्ने ह्यारीले बताए ।
केही सातादेखि आर्चीले ‘हाइड्रेट’ भन्ने शब्द दोहो-याइ रहेको उनीहरुले बताए । साथै कोही घरबाट बाहिर निस्कँदै छ भने आर्चीले सधैं ‘ड्राइभ सेफ’(सुरक्षित साथ गाडी चलाउनु) भन्ने गरेका छन् ।
परिवारमा नयाँ सदस्यको आगमन ?
हो, ह्यारी र मेघनले अबको केही महिनामै नयाँ बच्चालाई जन्म दिने भएका छन् । यस दम्पत्तिले अब छोरी जन्मिने कुरा पनि अन्तर्वार्तामै खुलाएका छन् ।
अन्त्यमा, ओप्राले मेघनलाई प्रश्न राख्छिन्, ‘प्रिन्स ह्यारीसँगको जीवन कस्तो भएको छ ?’
‘तपाईले अहिलेसम्म पढ्नुभएको परीहरुको कथाभन्दा अति सुन्दर,’ मेघनले जवाफ दिएकी छिन् ।
(बीबीसीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया