काठमाडौं । मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने ‘इन्टरनेसनल वुमन अफ करेज’ (आइडब्लूओसी) अवार्ड प्राप्त गर्दा आफूलाई खुसी लागेको बताएकी छिन् ।
वीरगन्ज छपकैयाकी मुस्कान खातुनले महिलाहरुमाथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि खेलेको भूमिकाका कारण उक्त पुरस्कारबाट सम्मानित हुन पाउँदा आफूमाथि झन् जिम्मेवारी थपिएको भन्दै खुसी व्यक्त गरेकी हुन् ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी प्रथम महिलाले यही मार्च ८ मा हुने भर्चुअल कार्यक्रमबीच मुस्कानलाई उक्त अवार्ड प्रदान गर्नेछन् ।
यो अवार्डबाट सम्मानित हुने मुस्कान पहिलो नेपाली हुन् भने अहिलेसम्मकी सबैभन्दा कान्छी विजेता पनि ।
यसअघि पाकिस्तानमा बालिका शिक्षाका लागि वकालत गर्दै आएकी नोबेल शान्ति पुरस्कार विजेता मलाला युसाफजाइले यो पुरस्कार पाएकी थिइन् । १५ वर्षदेखि अमेरिकाले प्रदान गर्दै आएको यो अवार्ड अहिलेसम्म विश्वभरिका ७५ देशका १५५ जनाले प्राप्त गरिसकेका छन् ।
ट्वीटरमार्फत् अमेरिकी राजदूत र्याण्डी बेरीले मुस्कानलाई बधाई समेत दिएका छन् ।
प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै १५ वर्षको उमेरमा खातुनमाथि एसिड आक्रमण भएको थियो । आक्रमणमा उनको अनुहार, छाती र हातमा चोट लागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया