काठमाडौं । पर्साको जगरनाथपुर गाउँपालिकास्थित नेपाल भारत सीमानामा पर्ने ओरिया खोलामा बालुवा झिक्न आएका भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झडप भएको छ ।
झडपका क्रममा दुई सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते हुनेहरुमा २५ वर्षीय नरेश यादव र २४ वर्षीय आयुष राय यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख बेल पाण्डेले लोकपथलाई बताए । घाइतेहरुको नारायणी अस्पतालमा उपचार भइरहेको एसपी पाण्डेले बताए ।
उनका अनुसार करिब १०/१२ जनाको संख्यामा आएका भारतीय नागरिकले जबरजस्ती नेपाली भूमी प्रयोग बालुवा उत्खनन गरिरहेका थिए । त्यसैक्रममा नजिकै रहेको सशस्त्र प्रहरी बलको टोलीले बालुवा उत्खनन रोक्ने क्रममा भारतीय पक्षले बेल्चा लगायतका सामाग्री प्रहार गरेपछि स्थिती तनाव ग्रस्त भएको हो ।
“सीमा क्षेत्रको खोला रहेकाले उनीहरु पहिले पनि बारम्बार आइरहन्थे । अरु बेलामा पनि हस्तक्षेप हुने गरेको थियो ।” उनले भने- “भारतीय पक्षका सुरक्षाकर्मीहरुले यता पठाइदिने गरेका छन् । यसैक्रममा आजपनि १०/१२ जनाको संख्यामा भारतीय नागरिकहरु आएको जानकारी प्राप्त हुनासाथ सशस्त्रको एक टोली त्यहाँ गएको र प्रतिवाद भइ झडपको स्थिती सिर्जना भएको हो ।”
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं १ पिपलाडी बिसनपुर रहेको ओरिया खोलाबाट भारतीय पक्षले एकतर्फीरुपमा अवैध बालुवा उत्खनन गर्दै आइरहेको त्यहाँको स्थानीय प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया