‘सरकारको उल्टो गति उल्टै मति’- गगन थापा  

 काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले विदेश जान महिलाले स्थानीय तहको सिफारिस र पारिवारिक मञ्जुरीनामा लिनुपर्ने प्रावधानको विरोध गरेका छन् ।

थापाले सामाजिक संजाल फेसबुक स्टाटस लेखेर उक्त प्रावधानको विरोध गरेका हुन् । उनले लेखेका छन्, ‘अध्यागमनको संयन्र बलियो बनाउन, क्षमता बढाउन, अभिलेखिकरण चुस्त राख्न,नागरिकको सुरक्षा गर्न सरकारले गर्नैपर्ने काम नगर्ने! उल्टो आफ्नो अक्षमताको ढाकछोप गर्न महिलामाथि अनेकन विभेदकारी बन्देज राखेर अध्यागमन कार्यविधि नै संसोधन गर्न खोज्ने ? यस्तो घृणित सोच! सरकारको उल्टो गति उल्टै मति!’

अध्यागमन विभागले भिजिट (पर्यटक) भिसामा विदेश जाने महिलामाथि लैंगिक विभेद हुने गरी अध्यागमन कार्यविधि–२०६५ संशोधनको मस्यौदा तयार पारेको छ ।

गन्तव्य मुलुकमा आफन्त/नातागोता नभएका, पहिलो पटक अफ्रिकी र खाडी मुलुक जान लागेका ४० वर्षभन्दा कम उमेरका महिलाले स्थानीय तहको सिफारिस र पारिवारिक मञ्जुरीनामा लिनुपर्ने प्रावधान राखेर विभागले कार्यविधि संशोधन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?