नारायणहिटीबाट गृहमन्त्रीको उद्घोषः ऐतिहासिक जनआन्दोलन थालनी भयो

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मांसहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले काठमाडौंको दरबारमार्गमा आयोजना गरेको आमसभामा बोल्दै गृहमन्त्री बादलले मांसहारी आन्दोलनबाट सरकार र नेतृत्व अपदस्थ गर्ने भन्दै हिँड्नुलाई संविधान र कानूनले अपराध घोषित गरेको र जावलाखेलको चिडियाघरमा लगेर बन्द गरिने बताएका हुन् ।

आमसभामा सम्बोधन गर्दै उनले देश फेरि एकजुट भएको, समाजवादको पक्षमा आन्दोलित भएको भन्दै उनले ऐतिहासिक जनआन्दोलनको थालनी भएको र यसलाई विजयसम्मै पु-याएरै छाड्ने बताए । उनले फेरि आन्दोलन गरेर मात्रै जनआन्दोलनलाई बचाउन र प्राप्त उपलब्धिको रक्षा गर्न सकिने उद्घोष गरे । उनले दोहोर्‍याएर भने, ‘गणतन्त्रको रक्षा गर्न हामी प्रतिबद्ध छौँ । देशलाई प्रतिगमनमा धकेल्न लागिएको भन्दै केही तत्वले भ्रम फैलाएको र नयाँ आन्दोलनले अब त्यो सबै भ्रम तोड्ने बताए ।’

फुटवादीलाई चेतावनी दिन्छु भन्दै उनले भने, ‘सचेत रहनु ।’

थापाले भने, ‘यो परिस्थिति आउनुको कारण र परिस्थिति बुझेर मात्रै अगाडिका घटनाक्रम हामी बुझ्न सक्छौँ । नेतृत्वलाई अपदस्थ गर्ने अस्थिरतामा धकेल्ने षड्यन्त्रसँग जोडिएको छ। प्रतिगामी तत्वले भ्रमको सहारा लिँदै नेतृत्व विस्थापन गर्न झुटको सहारा लिएका छन् ।’

सभालाई प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेलले केहीबेरमा सम्बोधन गर्दैछन् भने नेताहरु सत्यनारायण मण्डल, कृष्णगोपाल श्रेष्ठले सम्बोधन गरिसकेका छन् । आमसभाका लागि ठूलो संख्यामा नेता कार्यकर्ता भेला भएका छन् । राजधानीका १६ स्थानबाट दरबारमार्गमा जुलुस एकीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?