वीरगञ्ज । नेपालका लागि श्यामाप्रसाद मुखर्जी (कोलकाता) बन्दरगाहबाट सडकमार्ग हुँदै तेस्रो मुलुकबाट आउने कन्टेनर कार्गोमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन (आरएफआईडी) सिल अनिवार्य गरिएको छ । बन्दरगाहको सीमा शुल्क कार्यालयले सोमवारदेखि सडकमार्गबाट हुने ढुवानीमा आरएफआईडी अनिवार्य गरेको यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
बन्दरगाहमा सीटीडी प्रक्रियाबाट हुने ढुवानीमा आरएफआईडीमार्फत यसअघिको बोटल सिल विस्थापित गरिएको छ । पुरानो प्रविधिमा आधारित बोटल सिलभन्दा आरएफआईडी सुरक्षित र बढी प्रभावकारी हुने कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए ।
सडकमार्गमार्फत हुने ढुवानीलाई सुरक्षित र भरपर्दो बनाउन यो प्रणाली अपनाइएको हो । कोलकाता पोर्ट ट्रस्टमातहतको हल्दिया बन्दरगाहबाट हुने कन्टेनर ढुवानीमा पनि यो प्रविधि अनिवार्य गरिएको छ ।
यो इलेक्ट्रोनिक सिलबाट ढुवानीका क्रममा हुने विलम्बको जोखिम र समयको लागत बचत हुने वाणिज्यदूत सेवन्तक पोखरेलले बताए । ‘आरएफआईडी पुरानो बोटल सिलको तुलनामा प्रभावकारी मानिएको छ । यसबाट बन्दरगाह र आयातकर्ताले कन्टेनरको ट्र्याकिङ पनि गर्न सक्ने भएकाले ढुवानीको खर्च र समय बचत हुने अपेक्षा गरिएको छ,’ पोखरेलले आर्थिक अभियानसित भने ।
नेपाल आउने मालसामान भारतीय क्षेत्रमै दुरुपयोग भएकोप्रति भारतीय चिन्तालाई यो प्रविधिले कम गर्ने विश्वास भारतीय पक्षको छ । सडकमार्गको ढुवानीमा आरएफआईडी सिल वा इलेक्टोनिक कार्गो ट्र्याकिङ सिस्टम लगाउनुपर्ने भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया