निजगढ विमानस्थल सरकारले नै बनाउने

काठमाडौँ  । विगत तीन दशकदेखि चर्चामा रहेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारले आफै निर्माण गर्नुपर्ने निष्कर्षसहित प्रस्ताव तयार गरिने भएको छ ।
लामो समयसम्म पनि निजी क्षेत्रको लगानी सुनिश्चित नभएपछि आफ्नै लगानीमा सो विमानस्थल निर्माण गर्नुपर्ने निष्कर्षसहितको प्रस्ताव नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने , ‘‘यो विमानस्थलको निर्माण सरकारले नै गर्नुपर्छ भन्ने निष्कर्षमा प्राधिकरण पुगिसकेको छ ।’’ वि.सं. २०५१ सालमा नै यस विमानस्थल निर्माणको अध्ययन भएको हो । उक्त विमानस्थल निर्माणका लागि निजी लगानी ल्याउन २०६४ सालदेखि भएका प्रयास सफल हुन सकेको छैन ।

उनले निजगढ विमानस्थल निर्माणमा सरकारले लगानी गर्नुपर्छ भन्ने प्रस्ताव मन्त्रालय र प्राधिकरणले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाइसकेको जानकारी दिए । उनले भने , ‘‘यो विमानस्थलको निर्माण सरकारले नै गर्नुपर्छ भन्ने पहिलेदेखिको अध्ययनले सुझाव दिएको हो । तर पनि निजी क्षेत्रको लगानीबाट निर्माण हुन सक्छ कि भनेर लामो प्रयास गरियो तर सम्भव देखिएन ।’’

यो विमानस्थलको कुल लागत एक खर्ब २० अर्ब रुपियाँ अनुमान गरिएको छ । वार्षिक रूपमा २० अर्ब रुपियाँ लगानी गर्ने हो भने छ वर्षमा यो विमानस्थल निर्माण गर्न सकिने अनुमान छ । यो विमानस्थल निर्माणको जिम्मा विदेशीलाई दिँदाखेरि काठमाडौँ विमानस्थल सञ्चालनका जिम्मा हामीलाई नै जिम्मा दिनुपर्नेलगायत विभिन्नथरिका माग छन्, जुन हाम्रो परिपेक्ष्यमा उपयुक्त हुन नसक्ने महानिर्देशक पोखरेलले स्पष्ट पारे। गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?