प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, दियो यस्तो चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्ने नागरिकको नैसर्गिक अधिकार रहेको भन्दै कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

आइतवार काठमाडौंमा आयोजित एक अन्तर्किया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटनको विरोध गर्नेहरु देश विरोधी भएको आरोप लगाएको छ ।

सोमवार एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको अधिव्यक्ति अलोकतान्त्रिक रहेको प्रधानमन्त्रीको अधिनायक आकांक्षा थप उजागर भएको बताएका छन् ।

“संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री के।पी। शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार हो । प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेकोे अधिनायक आकांक्षालाई थप उजागर गरेको छ ।” उनले भने ।

कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु चैं देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट रहेको बताएका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीद्वारा सर्वोच्चको बहसलाई समासाको संज्ञा अदालत स्वतन्त्र विवेकलाई कुण्ठित पार्ने प्रयत्न भएको बताए । अधिवक्तालाई गाली, आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति रहेको र पूर्वप्रधानन्यायधीशहरुलाई अजासु भनी टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट भएको बताएका छन् ।

“सर्वोच्च अदालतमा भई रहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न हो । सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो । आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो ।” जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउंदै लगेका आरोप कांग्रेसले लगाएको छ । आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत प्रधानमन्त्रीले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहेको कांग्रेसको ठहर छ ।

त्यस्तै प्रधानमन्त्रीको अभिव्यक्ति दुखद मात्रै नभइ लज्जास्पद रहेको बताउँदै कुनैपनि पेशा व्यवसाय र समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन कांग्रेसले प्रधानमन्त्रीलाई चेतावनी समेत दिएको छ ।

“उहाँको यो प्रवृत्ति दुःखद मात्रै होईन, लज्जास्पद पनि छ । संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?