बैंकमा थन्कियो २ सय ५१ केजी सुनः क्रय शक्ति ह्रास हुँदा छैन सुनमा आकर्षण

काठमाडौं । पछिल्लो समय सर्वसाधारण सुन खरिदमा आकर्षित देखिएका छैनन् ।

कोभिड १९ का कारण सर्वसाधारणको क्रय शक्तिमा ह्रास आएका कारण सुन खरिद गर्न सर्वसाधारण आकर्षित नदेखिएका हुन् । लकडाउन हुँदा कयौं कामदारले रोजगारी गुमाएको तथा कयौं कामदारको तलब सुविधा कटौती भएका कारण उनीहरुको क्रय शक्तिमा ह्रास आएको हो ।

एकातिर सर्वसाधारणको क्रय शक्तिमा ह्रास आउनु र अर्कातिर सुनको मूल्य पनि उच्च रुपले बढ्नुले पनि सुनमा सर्वसाधारणको आकर्षण घट्दै गइरहेको हो ।
सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार अहिले नयाँ गरगहनाको अर्डर पनि निकै कम आउने गरेको छ । सर्वसाधारणले गरगहना बनाइहाले पनि कम सुन लाग्ने र अकारमा ठूला देखिने गरगहना मात्रै बनाउने गरेको पूर्व अध्यक्ष शाक्यको भनाइ छ ।

क्रय क्षमतामा ह्रास आएपछि मानिसहरु अत्यावश्यक वाहेकका कुनै पनि सामानहरु खरिद गर्न छाडे ।

सुन विलासिताको वस्तुमा पर्छ । बाँच्नका लागि सुन अनिवार्य नभए पनि आफ्नो पहिचान र आर्थिक अवस्था दर्साउन मानिसले सुनको प्रयोग गर्ने गरेको देखिन्छ । तर अबको अवस्था भनेको कसरी बाँच्ने, कसरी हातमुख जोड्ने भन्ने भएकाले सुनमा त्यति आकर्षित हुन छाडेको व्यवसायीहरु बताउँछन् ।

नेपाल बैंकर्स संघका अनुसार गत बुधवारसम्म बैंकमा २ सय ५१ केजी सुन स्टक छ । जसमा ९५ केजी काठमाडौँ उपत्यका र १ सय ५६ केजी उपत्यका बाहिर रहेको संघले जनाएको छ ।

कोरोनाको संक्रमणपछि लामो समयसम्म नखुलेको सुन व्यवसायमा आएको मन्दीका कारण बैंकको सुन पनि गत वर्षहरुमा जस्तो बिक्री नभएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हरेक दिन ३०-३५ केजी बिक्री हुने गर्छ । तर कोरोनापछि भने व्यवसायमा भारी गिरावट आएको छ । अहिले मुस्किलले १० केजीको हाराहारीमा मात्रै कारोबार हुने गरेको छ ।

यस्तो छ आजको भाउ

नेपाली बजारमा शुक्रवार सुनको मूल्य तोलामा ४ सयले वृद्धि भएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार १ सय रहेको थियो भने आज सुनको मूल्य वृद्धि भइ प्रतितोला सुन ९२ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार रहेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १२ सय ४५ रहेको थियो । शुक्रवार प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?