प्रधानमन्त्री ओली र जी न्यूजले माफी माग्नुपर्ने अनेरास्ववियूको माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिएको भोलिपल्ट भारतीय सञ्चारमाध्यम जी न्यूजका सम्पादक सुधीर चौधरीले सगरमाथाबारे दिएको विवादास्पद अभिव्यक्तिबारे नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववीयूले आपत्ति जनाएको छ ।

भारतीय सञ्चार माध्ययम जी न्यूजले सोमवार साँझ प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिएको थियो । त्यसको लगत्ती भोलिपल्ट अर्थात मंगलवार (हिजो) जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले भारतले सगरमाथा दाबी गर्ने भन्नेबारे विवादास्पद सामाग्री प्रस्तुत गरेका थिए । त्यसको भत्र्सना गर्दै प्रचण्ड-नेपाल समूहका अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओली र जी न्यूजले माफी माग्नुपर्ने बताएका छन् ।

बुधवार एक विज्ञप्ति जारी गर्दै नेपालको विषयमा आपत्तीजनक सामाग्री प्रशारण गर्ने जी न्यूजलाई बालुवाटारमै बोलाएर अन्तर्वार्ता दिने प्रधानमन्त्री ओलीको कदमले आक्रोशित र ससंकित तुल्याएको बताए ।

“नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध लगातार रुपमा विषवमन गर्दै आएको जी न्युजले आफ्ना कर्तुत उपर कुनै प्रायश्चित नगर्दै प्रधानमन्त्री स्तरवाटै वालुवटारको पटाङ्गिनीमा त्यसका प्रधान सम्पादकलाई नै रातो कार्पेट विछ्याएर स्वागत गरिएको परिघटनाले हामीलाई थप आशंकित र आक्रोशित तुल्याएको छ ।” उनले विज्ञप्ति जारी गर्दै भने ।

त्यस्तै नेपालबारे भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न समेत चेतावनी दिएका छन् । त्यस्तै संविधान लत्याएर संसद विघटन गरेसँगै राष्ट्रिय स्वाधिनता र स्वाभिमानमा आँच पुर्याउने व्यक्ति तथा संस्थाहरुसँग साँठगाँठ नगर्न समेत चेतना दिएका छन् ।

“हामी चौधरी र उनको संचारसंस्थालाई यस खालको भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न आग्रह गर्दछौं । यस संगसंगै संविधान लत्याएर प्रतिगमनको वाटोमा हिडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आंच पुर्याउने ब्यक्ति र संस्थाहरुसंग रहस्यमय र अपारदर्शी भेटघाट र सांठगांठ नगर्न चेतावनी दिन चाहन्छौं ।” जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसका साथै प्रधानमन्त्री ओलीले चौधरीसँगको भेटघाटका बारे जनतालाई स्पष्ट पार्न र कुटनीतिक मर्यादा विपरितका भेटघाट नगर्न र यसअघिका भेटघाटबारे जनतासमक्ष माफी माग्न समेत अनेरास्ववियूले माग गरेको छ ।

“यसका साथै प्रधानमन्त्री ओलीलाई चौधरीसंगको भेटवारे तत्काल जनतालाई स्पष्ट पार्न , आइन्दा त्यस्ता कुटनीतिक मर्यादा बिपरितका भेटघाट नगर्न र यसअघि गरेको कुटनीतिक मर्यादा बिपरितका भेटघाटबारे जनता समक्ष अविलम्ब माफी माग्न जोडदार माग गर्दछौं ।” सहसंयोजक तामाङले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?