‘पल्सर स्पोर्टस अवार्ड’ आज

काठमाडौं । पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आज मंगलवार हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ । अवार्ड कार्यक्रम अपरान्ह साढे ४ बजे शुरु हुनेछ ।

कोरोना भाइरसको महामारीका कारण सेमी भर्चुअलको रुपमा आयोजना हुने अवार्ड कार्यक्रममा विभिन्न १० विधामा अवार्ड प्रदान गरिनेछ ।

अवार्डका लागि वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन् ।

ई–सेवामार्फतको भोटिङ, फेसबुक लाइक, आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुनेछन् ।

पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेलपत्रकारको सम्मान कार्यक्रमकै दिन मंगलवार घोषणा गरिने छ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् ।

वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन् ।

वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन हुँदा वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन् ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) हुने अवार्डमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीको प्रायोजन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?