२०२० मा विश्व घेराबन्दीमा चीन : विवाद सिर्जना गर्न केन्द्रित, शीको निरंकुशताको आलोचना

काठमाडौं । सन् २०२० मा चीन विश्‍व आलोचना र विवादको केन्द्रमा रह्‍यो । सन् २०२० को शुरुवातसँगै चीनको वुहानबाट शुरु भएको कोरोना प्रकोपले विश्व महामारीको रुप लियो । चीनले कोरोना प्रकोपको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा विश्वव्यापी महामारीको रुप लिएको भन्दै संयुक्त राज्य अमेरिकालगायतका विश्‍वका मुलुकहरुले चीनको आलोचना गरे ।

कोरोना महामारीसँगै शुरु भएको सन् २०२० मा चीनको चर्को आलोचना थालेपछि चीनले उक्त विषयबाई विश्वको ध्यान मोड्‍न थप गल्तीहरु गर्दै लगेको पाइएको छ । अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकहरुले कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्न स्वतन्त्र टोली वुहान जानुपर्ने प्रस्ताव गरेका थिए । जसका कारण अस्ट्रेलियासँगको सम्बन्धमा पनि दरार पैदा भयो ।

चीनले आफ्ना छिमेकी मुलुकहरुमाथि सीमा अतिक्रमण र बिस्तारवादको नीति अवलम्बन गर्‍यो । सोही अनुसार भारतीय भूभागमा दाबी गर्न गत वर्षको मे महिनादेखि शुरु भएको थियो । चिनियाँ बिस्तारवादको नीतिको परिणामस्वरुप चीनले जून १५ मा भारतीय सीमा सुरक्षामा खटिएका भारतीय सेनामाथि आक्रमण गर्‍यो । लद्दाखको गलवान भ्यालीमा भएको उक्त आक्रमणमा २० भारतीय सेनाको मृत्यु भयो ।

चीनले भने आफ्नो तर्फबाट भएको सेनाको क्षतिको विवरण भने गुपचुप राख्‍यो । २१ औँ शताब्दीमा पनि हिंसात्मक आक्रमण गर्ने चिनियाँ कदमको विश्वभर निन्दा भयो भने विभिन्न देशले भारतको समर्थन गरे। त्यसको प्रतिसोधस्वरुपमा भारतले विभिन्‍न चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगायो भने चिनियाँ उत्पादन बहिष्कार गर्ने अभियान चलायो । यो अभियानमा विश्वका अन्य मुलुकहरु पनि सामेल भए।

अमेरिका, बेलायतलगायतका मुलुकहरुले चिनियाँ टेक जाइन्ट हुवावेमाथि प्रतिबन्ध लगाए । भारत, पाकिस्तानलगायतका मुलुकहरुम चिनियाँ भिडियो एप टिकटकलगायतका एक सयभन्दा बढी एपहरुमाथि प्रतिबन्ध लगाइयो ।

चीनले जून अन्तिममा हङकङको स्वतन्त्रता नै नियन्त्रणमा लिने गरी नयाँ सुरक्षा कानून लागू गर्‍यो । यस कानूनको पनि चर्को आलोचना र निन्दा भयो । एक मुलुक दुई प्रणाली भनेर बेलायतसँग गरेको सम्झौता चीनले उल्लंघन गरेको भन्दै हङकङबासीको स्वतन्त्रता खोसिएको भन्दै चर्को आलोचना भयो । चीनले हङकङमा सन् २०१९ देखि प्रजातन्त्र र स्वतन्त्रताको माग गर्दै आएकाहरुलाई नियन्त्रणमा लिने र यातना दिने काम थाल्‍यो ।

सन् २०२० मा चीनमा एक सयभन्दा बढी पत्रकार र अधिकारकर्मीहरुलाई नियन्त्रणमा लिइयो । सन् २०२० मै उइगरहरुमाथिको नरसंहारलाई थप बल पुर्‍याएको, धार्मिक र सांस्कृतिक स्वतन्त्रता कुण्ठित गरेको भन्दै मानवअधिकारवादी संगठनहरुले चर्को आलोचना गरेका छन् ।

समग्रमा भन्दा चीन सन् २०२० मा विश्वको नजरमा निकै तल खसको पाइन्छ । विश्वको घेराबन्दीमा परेको भन्दा पनि फरक पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?