लोकप्रिय बन्दै ‘क्यूआर कोड’ : जानीराखौँ यस्ता छन् फाइदा

कमला अर्याल/ काठमाडौं ।  नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई तीव्र रुपमा अगाडि बढाएको छ ।

राष्ट्र बैंकले डिजिटल कारोबारलाई विस्तार गर्ने क्रममा पछिल्लो समय ‘क्यूआर कोड’ को माध्यमबाट डिजिटल बैंकिङको विस्तार गरिरहेको छ ।

पछिल्लो समय हरेक क्षेत्रमा भुक्तानीका लागि क्यूआर कोडलाई निकै लोकप्रिय सेवाको रुपमा लिन थालिएको छ ।

सानिमा बैंकको सक्रियतामा राष्ट्र बैंकले तरकारी बजारमा पनि क्यूआर कोड माध्यमबाट डिजिटल कारोबार गर्न पाइने गरी शुरुवात गरेको हो । राष्ट्र बैंकले हालै नक्साल तरकारी बजारबाट क्यूआर पेमेन्टबाटै तरकारी किन्न सकिने शुरुवात गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसको शुरुवात गरेका हुन् । गभर्नर अधिकारीले एक किलो अदुवा किनेर तरकारी बजारमा क्यूआर कोड शुरुवात गरेका थिए ।

‘क्यूआर’ कोडमार्फत् गरिने सो कारोबारका लागि भायनेट इन्टरनेटले निशुल्क सेवा उपलब्ध गराएको छ । कालीमाटी तरकारी बजारमा पनि छिट्टै क्यूआर कोड लागू हुने राष्ट्र बैंकले जनाएको छ ।

के हो क्यूआर कोड ? 

‘क्यूआर कोड’ अर्थात् ‘क्वीक रेस्पोन्स’ । यो प्रणालीबाट कारोबार गर्दा मोबाइलबाट बैंकले उपलब्ध गराएको कोड क्लिक गर्ने बित्तिकै कारोबार हुन्छ । अर्थात् क्यूआर कोडको माध्यमबाट छिटो छरितो तरिकाबाट तत्काल कारोबार गर्न सकिन्छ । मोबाइलको सहाराबाट कुनै पनि कारोबार सजिलैसँग गर्न सकिन्छ । बैंकले उपलब्ध गराउने कोडको प्रयोग गरेर सजिलैसँग भुक्तानी गर्न सकिन्छ ।

यसरी गर्न सकिन्छ क्यूआर कोडबाट भुक्तानी :

यस प्रकारको भुक्तानी विशेष गरी मोबाइलबाट हुने भएकाले कुनै पनि व्यक्तिको बैंक खातासँगै मोबाइलमा बैंकिङ एप हुनुपर्छ । अथवा आइएमई पे, प्रभु पे इसेवा तथा खल्ती, लगायतका वालेटबाट क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ ।

मोबाइल बैंकिङ एप भित्रै कुनै पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरुको फिचर लिंक रहेको हुन्छ । त्यसपछि क्यूआर कोर्ड स्क्यान गरेर बैंकिङ एपमार्फत् रकम भूक्तानी गर्न सकिन्छ । त्यसका लागि इन्टरनेट अनिवार्य रुपमा आवश्यक पर्छ ।

यसरी भूक्तानी गर्दा क्यूआर कोडमा व्यक्ति वा संस्थाको नाम, खाता भएको बैंकको नाम तथा खाता नम्बर भएको हुनुपर्नेछ । हालसम्म फोनपेमा विभिन्न ५७ वटा कम्पनीहरु आवद्ध छन् । जसमध्ये ५४ वटा बैंक तथा वित्तीय संस्थाहरु मात्रै आवद्ध रहेका छन् । झण्डै २ लाख सिनेमा घर विभिन्न प्रकारका पसल, होटल तथा रेष्टुरेन्ट लगायतले पनि क्यूआर कोडमा जोडिएका छन् ।

यस्तो छ क्यूआरमा आधारित भुक्तानीको पछिल्लो अवस्था :

नेपाल राष्ट्र बैंकले गत पुस १७ गते जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनअनुसार मोबाइल बैंकिङ क्यूआर कोडसमेतबाट उपभोक्ताहरुले प्रतिदिन एक लाख रुपैयाँ र प्रति महिना १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्ने सीमा तोकेको छ ।

राष्ट्र बैंकका चालू आर्थिक वर्षको चार महिनासम्ममा क्यूआर कोडमार्फत् कुल २ लाख ४१ हजार ८१८ कारोबारहरू भएका छन् ।

यस्ता छन् क्यूआर कोडका फाइदाहरु : 

क्यूआर कोडको माध्यमबाट कारोबार गर्दा छोटो समयमा तत्कालै गर्न सकिन्छ । त्यसैले सबैभन्दा ठूलो फाइदा त समयको बचत हुन्छ ।

स्मार्टफोन तथा इन्टरनेट भएमा खल्तीमा पैसा बोकेर हिँड्नु पर्ने झण्झट हटाउँछ । काम प-यो भने पैसा झिक्न एटीएम बुथ धाउनुपर्ने अवस्था पनि हुँदैन । त्यसैले पनि यो भुक्तानी सेवा लोकप्रिय हुँदै गएको छ ।

त्यस्तै,क्यूआर कोडमार्फत् भुक्तानी गर्दा खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने र ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने हुँदा सुरक्षित समेत हुने राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, बैंकमा आवतजावत गर्न समय पनि नलाग्ने, क्यूआर कोडको प्रयोग गरेर सामान खरिद गर्दा कागजी नोटबाट कारोबार गर्दा हुने सम्भावित खतराबाट पनि जोगिन सकिन्छ ।

जस्तो रोगका किटाणुहरु कागजी नोटमा लामो समयसम्म रहन सक्छन् । पछिल्लो समय आएको कोरोना भाइरस ‘कोभिड १९’ पनि कागजी नोटबाट सर्ने चिकित्सकहरुले बताएका छन् ।

त्यसका साथै क्यूआर कोडका माध्यमबाट कारोबार गर्दा नोटको जतन समेत हुन्छ ।

नोट छपाईमा सरकाले ठूलो रकम खर्च गर्नुपर्ने भएकाले सो खर्च बचाउन पनि क्यूआर कोडको माध्यमबाट हुने कारोबारले ठूलो सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?