काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र झण्डाको विवाद देखिएको छ ।
फरक फरक केन्द्रीय समिति बैठक बसिरहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल समूहको बैठक दुवैले आफूलाई आधिकारीक नेकपा भएको र सुर्यलाई आफ्नो चिन्ह दाबी गरिरहेका छन् ।
यसैबीच आज बसेको ओली समूहको नेकपाको केन्द्रीय समिति बैठकमा सुर्य चिन्हको झण्डा राखिएको छ ।
तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण भएसँगै सुर्यभित्र हसिँया हथौडा राखिएको झण्डा सार्वजनिक गर्दै नेकपाको झण्डा त्यसैलाई कायम गरिएको थियो । तर आजको बैठकमा ओली पक्षले झण्डा नै सुर्य राख्नुलाई पार्टी फुटको अन्तिम रुप मान्न सकिन्छ । यसअघि मंगलवार बसेको ओली पक्षको केन्द्रीय समिति बैठकमा हसिँया हथौडा मात्रै राखिएको थियो । आजको ओली समूहको बैठकमा हसिँया हथौडा र सुर्य चिन्हको झण्डालाई फरक फरक राखिएको देख्न सकिन्छ । भने यसअघिको बैठकमा कुनै पनि नेताहरुको नाम नराख्ने भनिएकोमा पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको समेत फोटो राखिएको छ ।
संसद विघटनपछि ओली र प्रचण्ड नेपाल समूहले फरक फरक बैठक बसिरहेका छन् । दुवै पक्षले आफूहरुलाई आधिकारी दाबी गरिरहेका छन् । यसैबीच मंगलवार बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले ११९९ जना हुनेगरी केन्द्रीय कमिटी विस्तार साथै आफ्नो समूहको प्रवक्तामा स्थायी कमिटी सदस्य प्रदिप ज्ञवालीलाई राख्ने निर्णय गरेको छ । त्यस्तै यता प्रचण्ड समूहको मंगलवार बसेको बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने र बुधवार बसेको बैठकले प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । दुवै समूहले आफूलाई वास्तविक नेकपा बनाउने होड चलिरहँदा निर्वाचन आयोग भने अन्यौलमा परेको छ । दुवै समूहको केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा पुगेको र त्यसबारे निर्णय गरिने निर्वाचन आयोगको धारणा रहेको छ ।
बुधवार प्रचण्ड नेपाल समूह निर्वाचन आयोगमा बहुमत केन्द्रीय सदस्यहरुको नामसहित निर्वाचन आयोग पुगेको थियो । बैठकपछि बोल्दै नेता सुरेन्द्र पाण्डेले आफूहरु नै वैधानिक नेकपा भएको दाबी गरेका छन् । भने यता ओली पक्षका प्रवक्ता ज्ञवालीले महासचिवसहित भएकाले आफूहरु नै वास्तविक नेकपा भएको बताउँदै आएका छन् । पार्टी बैठकको आयोजना महासचिवले गर्ने भएकाले आफ्नो समूहमा महासचिव भएकाले आफूहरु (ओली समूह) नै बास्तविक नेकपा भएको उनको दाबी रहेको छ ।
ओली पक्षको बैठकमा आफूलाई तटस्थ बनेका गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल समेत सहभागी भएका छन् । संसद विघटनपछि प्रचण्ड माधव समूहका ७ जना मन्त्रीहरुले राजीनामा दिँदा बादलले भने दिएका थिएनन् । त्यसपछि दुवै समूहको बैठकमा सहभागी नभएका बादल आजको बैठकमा सहभागी भएका हुन् । यद्यपी दुवै (ओली र प्रचण्ड) सँग बादलले छुट्टाछुट्टै भेट भने गरिरहेका छन् ।
आज (बिहीवार) प्रचण्ड नेपाल समूहको बैठक बबरमहलस्थित कार्की ब्यांकेटमा बसेको छ । प्रचण्ड नेपाल समूहको बैठकमा भने हँसिया हथौडा नै राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया