शेरबहादुर तामाङले गरे कित्ता ‘क्लियर’ : प्रचण्ड-नेपाल समूहमा जाने !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शेरबहादुर तामाङले पार्टीमा आफूलाई एक कित्तामा उभ्याउने भएका छन् ।

पूर्व  कानूनमन्त्रीसमेत रहेका नेता तामाङले आफूलाई नेकपाको प्रचण्ड-नेपाल समूहमा रहने निर्णय गरेका हुन् ।

यसअघि प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहले आह्वान गरेको केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका नेता तामाङले अब कित्ता क्लियर गरेर जाने बताएका हुन् ।

आजपनि ओली र प्रचण्ड-नेपाल दुवै समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आजको बैठकमा भने नेता तामाङ प्रचण्ड-नेपाल समूहको बैठकमा जाने निष्कर्षमा पुगेका हुन् ।

संसद विघटनपछि नेकपा विभाजनको संघारको नजिक पुगेको छ । यसैक्रममा नेताहरु एक अर्को समूहमा विभाजित हुन थालेका छन् । भने कतिपय तटस्ठ मानिएका नेताहरुलाई अध्यक्षहरुले भेटेर आफ्नो समूहमा आउनका लागि आग्रह गरिरहेका छन् । यसमा नेताहरुकै दोष रहेको उनको दाबी रहेको छ ।

हामीले विकास गरेको नेपालको लोकप्रिय कम्युनिष्ट आन्दोलनमा यति ठूलो विग्रह न विगतमा भयो न भविष्यमा हुनेछ । पुनः सबैले आ–आफ्नो ठाउँबाट हामीमा रहेको कुण्ठित भावनाहरुलाई त्यागेर पार्टीलाई एकताबद्ध बनाउने काममा गम्भीर समिक्षा गरेर लागौं । विभाजनले कसैलाई फाईदा छैन । राष्ट्रको नेतृत्वदायी पार्टीहरुमा विग्रह हुनु र विभाजन हुनु निश्चय नै राष्ट्र र जनताका लागि पिडादायी कुरा हो । यसले सिंगै राष्ट्रलाई ठूलो असर पार्दछ ।” उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

सिन्धुपाल्चोकको क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका नेता तामाङले जिल्ला र सर्कलका साथीहरुको मनोभावना प्रचण्ड(नेपाल समूहमा जाने मनसाय रहेकोले आफू उक्त समूहमा बस्ने निर्णय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?