एएफसी क्लबको लाइसेन्स पाउने एक्लो बन्यो आर्मी

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी क्लब लाइसेन्स प्राप्त गरेको छ । एन्फाको क्लब लाइसेन्स इजाजतका लागि अपिल गर्ने निकायको मंगलवार बसेको बैठकको निर्णय आर्मी फुटबल क्लबलाई लाइसेन्स दिने निर्णय भएको हो ।

आर्मी क्लबले यस अघिको निर्णय उपर पुनर्विचार गरी पाउँ भनी एन्फा सचिवालयमा दर्ता गराएको अपिलमाथि छलफल हुँदा त्रिभुवन आर्मी फुटबल क्लबले एएफसीको मापदण्डअनुसार सबै योग्यता पुरा गरेको पाइएकाले लाइसेन्स प्रदान गरिएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

सो लाइसेन्स प्राप्त गरे पश्चात आर्मी फुटबल क्लबले एएफसी कप क्लब अन्तर्गत संचालन हुने व्यवसायिक फुटबल प्रतियोगिताहरुमा सहभागी भई नेपालको प्रतिनिधित्व गर्न सक्ने नेपाली सेनाले जनाएको छ ।

यस ऐतिहासिक उपलब्धिको अवसरमा नेपाली सेना र त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा लगायत सम्बद्ध सबैमा आभार व्यक्त गर्नुका साथै यसबाट नेपालमा फुटबल खेलको विकासमा थप टेवा पुग्ने विश्वास समेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?