प्रधानमन्त्री ओलीले आफूलाई महाराज ठानेको वरिष्ठ नेता खनालको आरोप

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बबरमहलस्थित कार्की ब्यांकेटमा बसेको केन्द्रीय समितिको बैठकमा नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन् ।

यसैक्रममा बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले ओलीले प्रधानमन्त्री भएकै दिनदेखि आफूलाई महाराजजस्तो ठानेको आरोप लगाएका छन् ।

त्यस्तै वरिष्ठ नेता खनालले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीकै कारण नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा पुगेको आरोप समेत लगाएका छन् ।

अध्यक्ष ओलीले एमालेमा हुँदा पनि निरन्तर गुटबन्दी गर्दै आएको चर्चा गर्दै खनालले सरकारको नीति तथा कार्यक्रम ल्याउँदासमेत पार्टीसँग कुनै छलफल नभएको बैठकलाई सम्बोधन गर्दै बताएका छन् ।

ठुलो संघर्ष र वलिदानीबाट कम्युनिष्ट पार्टी आएको दाबी गर्दै वरिष्ठ नेता खनालले संविधानमार्फत प्राप्त उपलब्धि रक्षार्थ प्रभावकारी भूमिका खेल्नुपर्ने समय आएको समेत बताएका छन् ।

देशलाई अस्थिरताको बन्दी बनाउनेतिर जाने भएकाले नै संविधानमा संसद भंग गर्ने व्यवस्था नराखेको दाबी गरेका छन् ।

समृद्धिका आधार निर्माण गर्ने उद्देश्यले नै दुई ठुला कम्युनिस्ट पार्टीबीच एकता भएको प्रस्ट पार्दै ओलीले प्रधानमन्त्री भएदेखि नै आफूलाई महाराजजस्तो ठानेको आरोप लगाए छन् । ‘केपी ओलीलाई सर्वसम्मतिले प्रधानमन्त्री बनायौं, त्यो दिनदेखि उहाँले आफूलाई महाराजजस्तो ठान्नुभयो ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?