काठमाडौ । अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल बनेको छ । तस्वीर दुर्घटनास्थलको हो जसमा दुई व्यक्ति सडकमा लडिरहेका छन् । उनीहरु अचेत जस्तो देखिन्छन् । छेउमै एउटा स्कुटर पनि टुटेफुटेको अवस्थामा लम्पसार छ । त्यसैको छेउबाट अघिपछि सुरक्षाकर्मीको स्कर्टिङमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको सवारी भइरहेको छ ।
आफ्नै आँखाअघि दुर्घटनामा परी सडकमा छटपटाइरेहका घाइते देख्दा पनि बेवास्ता गरी आफ्नो बाटो तताएको भन्दै सामाजिक सञ्जालमा मुख्यमन्त्रीको तीव्र आलोचना भइरहेको छ ।
घटना सोमवार दिउँसोतिरको हो । घटनास्थल चाहिँ बेलबारी नगरपालिका–४ हुल्लुडेस्थित पूर्व पश्चिम राजमार्ग । दुर्घटनामा पर्नेहरु थिए बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र उनका छिमेकी ६३ वर्षीय दुर्गा भण्डारी । घटनास्थलमा उपस्थित सर्वसाधारणहरुका अनुसार मुख्यमन्त्रीको सवारी भएको १० मिनेटपश्चात् मात्र प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले उद्धार गरी अस्पताल पु-याएपछि खत्रीलाई मृत घोषित गरियो भने भण्डारीको विराटनगरमा उपचार भइरहेको छ ।
घटनास्थलमा मुख्यमन्त्री शेरधन राई झापाको कार्यक्रमबाट फर्कदै गर्दा उनलाई इलाका प्रहरी कार्यालय पथरीको गाडीले स्कर्टिङ गरेर ल्याएको थियो ।
उनले गाडी रोकेर घाइतेलाई अस्पतालसम्म पु-याउने व्यवस्था गरिदिएको भए उनीहरुको ज्यान जोगिन्थ्यो । त्यही जनताको मत लिएर सवारीमा रहेका जनप्रतिनिधि आँखै अगाडिको आफ्नै नागरिकको दुर्घटना कसरी बेवास्ता गर्न सक्छन् भनेर उनी विरुद्ध कटाक्ष भइरहेको छ । उनलाई गैरजिम्मेवार, निर्दयी भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले गालीगलौज गरिरहेका छन् । यसवारे मुख्यमन्त्रीले भने केही प्रतिक्रिया दिएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया