टीका खतिवडा/ मङ्गलबारे । नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा छैनन् । हाल उनी मालपोत कार्यालय इलाम अन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत छन् । करिब दुई दशक लामो पत्रकारिता पेशा उनले परिवर्तन गरेका हुन। लामो समयसम्म अन्नपूर्ण पोष्टसँग आबद्ध भएर उनले जिल्लामा रही पत्रकारिता गरे । उनले जिल्लामा नै पहिलो दैनिक पत्रिकासमेत सञ्चालन गरे । तर पत्रकारितामा भविष्य नदेखेर उनले यो पेशा छोडेको बताउछन् ।
उनीसहित उनकी श्रीमतीले पनि पत्रकारिता पेशा छोछेकि छिन । उनकी श्रीमती कमला भट्टराई पनि काठमाडौँबाट प्रकाशन हुने नेपाल समाचारपत्रसँगै जिल्लाकै पहिलो दैनिक पत्रिका सन्दकपुरमा कार्यरत थिइन । तर दुवै जना हाल फरक काम गर्न थालेका छन् । कमला हाल सूर्योदय नगरपालिकामा काम गर्न थालेकि छिन् ।
विसं २०६५ बाट प्रकाशति जिल्लाकै पहिलो दैनिक पत्रिका बन्द गरेर उनीहरु फरक पेशामा लागेका छन् । पत्रकारिता धेरै व्यस्त हुने पेशा हो तर उनीहरुको दैनिकी त्योभन्दा कम व्यस्त छैन अहिले । “पहिलेभन्दा धेरै ब्यस्त भइएको छ”, रोहितचन्द्र भट्टराईले भने । मालपोत कार्यालय इलाममा सेवाग्राहीका लागि उनी खट्छन । उनलाई पत्रकारिता पेशाप्रति भने सम्मान छ । गाउँगाउँमा गएर रिपोर्टिङ गर्दा आनन्द हुने भए पनि पैसा बचाउन नसक्दा भने घर चलाउन नै समस्या हुने गरेको कमला भट्टराईले बताइन ।
पत्रकार महासङ्घकै पूर्वअध्यक्ष उमेश गुरुङ पनि हाल समाजसेवा र यससँगै राजनीतिमा लागेका छन। उनीले रेडियो नेपालमा आबद्ध भएर लामो समय काम गरेका थिए । जिल्लाको इलाम एफएममा समेत कुशल प्रस्तोताका रुपमा ख्याती कमाएका उनले हाल सञ्चारमाध्यमको जागिरलाई चटक्कै माया मारेर गाउँमा समाजसेवा तथा राजनीतिकर्मीका रुपमा आफूलाई व्यस्त राखेका छन् । धिरेन चेम्जोङ पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुन्। उनी समेत जिल्लाका विभिन्न साप्ताहिकसँगै चियाबारी दैनिकको प्रधान सम्पादक समेत रहेर काम गरे ।
उनीपनि हाल राजनीतिमा नै क्रियाशील छन् । इलामकै अर्का पत्रकार विमल वैद्य नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य भए । तर उनी पनि हाल पत्रकारितामा सक्रिय छैनन् । जिल्लाको शुभप्रभात साप्ताहिकदेखि विभिन्न पत्रिकामा काम गरे पनि उनी हाल सदरमुकाममा व्यवसाय सञ्चालन गरिरहेका छन् । साहित्य लेखनमा सक्रिय उनको अहिलेको पेशा भने पत्रकारिता होइन ।
नेपाल टेलिभिजनका पूर्वजिल्ला समाचारदाता प्रभाकर प्रधान हाल व्यवसायमा क्रियाशील छन् । उनी जस्तै नुतन रञ्जितकार, मोहनमान श्रेष्ठ पनि हाल पत्रकारिताभन्दा पनि व्यवसायमा नै आफ्नो सबै समय खर्चिरहेका छन् । महासङ्घका सदस्य भएर पनि मदन कुमार खड्का र उत्तम पौडेल जिल्लामा अधिवक्तारुपमा नै आफ्नो पेशा स्थापित गरिसकेका छन् । होम ढकाल सीमावर्ती क्षेत्रका कार्यरत संस्था माइती नेपालमा आबद्ध छन् ।
ठाकुर नारायण श्रेष्ठ र जयकुमार राई जनप्रतिनिधिकैरुपमा रहेका छन । श्रेष्ठ इलाम नगरपालिका– ५ का वडाध्यक्ष हुन भने राई सूर्योदय नगरपालिकाको एक वडाको वडा सदस्य हुन् । केशव द्यौराली, भीम सङ्गम कार्की, प्रकाश अधिकारी, बेदमाया मुखिया, गोविन्द लामिछाने, युवराज पिसी, विचारसिंह लावती, विमल दाहाल हाल एनजिओमा आबद्ध भई काम गरिरहेका छन् । माधव गुरुङ, बेनुप भट्टराई र इन्दिरा घिमिरे हाल विदेशमा छन्। लक्ष्मी मिश्र हाल सूर्या लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक रहेर काम गरिरहेकि छिन । गोविन्द मिश्र सवारी व्यवसायीका रुपमा जिल्लामा सेवा दिइरहेका छन । पत्रकारिता क्षेत्रमा निकै लामो समय काम गरिसकेर पनि उनीहरुले पेशा परिवर्तन गरिरहेका छन् ।
गोरखापत्र दैनिकमा रहेर जिल्लाबाट क्रियाशील बुद्धवीर राई दक्षिण कोरियामा छन। दुसवी भट्टराई समेत विदेशमा नै कार्यरत छन् । सञ्चारमाध्यमले समयमा पारिश्रमिक नदिने, दिए पनि कम दिने भएकाले पेशा परिवर्तन गर्नुपरेको उनीहरु बताउछन ।
पत्रकारितामा रहँदारहँदै मेहनत गरेर केही पत्रकार निजामती सेवातर्फसमेत लागेका छन् । महासङ्घ इलामका पूर्वसचिव अशोककुमार बान्तवा, अमृत सुब्बा, देवेन्द्र चापागाईं, दिलकुमार लिम्बू, कोपिला बस्नेतले राष्ट्र सेवकका रुपमा सेवा दिइरहेका छन् । हेमराज ढकाल इलाम नगरपालिकामा कार्यरत छन । पत्रकार महिला पनि विवाहपछि पेशाबाटै पलायन भएका छन। उर्मिला सुवेदी, तीर्थकुमारी तिम्सिना, मेनुका भट्टराई, कमला थापा, कृष्णकला खतिवडा, मिना खतिवडा, रेश्मा अधिकारी, सावित्रा गुरगाइँ सञ्चारमाध्यममा त्यति सक्रिय छैनन । डिल्ली चापागाईं, कमल श्रेष्ठ, कुबेर निरौला, हरिप्रसाद लुइँटेल, जीवन शर्मा, खगराज घिमिरे, कुमार गुरुङ, कौशिला राई, योगेन्द्र शङ्कर, सन्तोष नेम्वाङ, प्रेमप्रसाद भण्डारी, बलराम बराइली, मिलन आचार्य, विष्णुप्रसाद गड्तौला, दुर्गा भवानी पोख्रेल, बुद्धमाया सोङ्मीसमेत पत्रकारिताभन्दा फरक पेशामा रमाईरहेका छन । गोपाल दाहाल हाल युनियन लाइफ इन्स्योरेन्स इलामका शाखा प्रबन्धकका रुपमा कार्यरत छन । सरोज खतिवडा, सरोज कट्वाल, सुवास भट्टराई, सुवास गुरगाइँ, योगराज सापकोटा, सुप्रिया श्रेष्ठलगायत सञ्चारकर्मी पनि अन्य पेशा, व्यवसाय र रोजगारीमा रमाइरहेका छन।
उनीहरु मात्र होइन पछिल्लो समय पत्रकार महासङ्घको सदस्यता लिएका पनि अन्य क्षेत्रमा नै बढी क्रियाशील छन । विभिन्न पेशागत तथा व्यावसायिक सङ्घसंस्थामा क्रियाशील भए पनि सञ्चारमाध्यममा कम समय दिने पत्रकारको सङ्ख्या बढ्दो छ ।
पहिला सञ्चारमाध्यमले जति तालीम, गोष्ठी आदि गरी नयाँ पत्रकार उत्पादन गर्ने गर्दथे । अहिले यस्तो परम्परा घट्दै गएको छ । युवायुवतीमा सञ्चारमाध्यमप्रतिको रुचि कम हुँदै गएका कारण पनि तालीम हुन छोडेको बताइन्छ । पहिला पत्रकारिता तालीमको आयोजना हँुदा सयौँको सङ्ख्यामा प्रशिक्षार्थी सहभागी हुने गरेकामा हाल त्यति आकर्षण नरहेको पत्रकार महासङ्घ प्रदेश नं १ का उपाध्यक्ष तथा रेडियो नेपालबाणी एफएम इलामका स्टेशन म्यानेजर सोम सुशेलीको भनाइ छ । उनी हाल सञ्चारमाध्यममा काम गर्नेको कमी हुँदै गएको बताउछन ।
जिल्लामा हाल छ वटा रेडियो सञ्चालित छन् । दुई वटा दैनिक पत्रिका र एउटा साप्ताहित पत्रिका छ । केही अनलाइन हाल क्रियाशील छन् । पछिल्लो समय अनलाइन पत्रकारितातर्फ धरैको चासो बढेको नयाँ बुलन्द डटकम इलामका सम्पादक राल लिम्बू बताउछन । पछिल्लो समय अनलाइन सञ्चारमाध्यमको विकास हुँदै गएको छ । अहिले पत्रकारिता गर्न चाहने कतिपय युवायुवतीहरु अनलाइनमा आउन चाहन्छन् तर रेडियो र पत्रिकामा उनीहरुको रुचि छैन ।
राम्रो कमाइ नभएकाले नै पत्रकारितामा आकर्षण घटेको हो ।
जिल्लामा हाल करिब २० जनाको हाराहारीमा मात्र क्रियाशील पत्रकार रहेको बताइएको छ । तर पत्रकार महासङ्घमा यस वर्ष ४७ जना सदस्य थपिएको महासङ्घ इलामका उपाध्यक्ष सुजन तिम्सिनाको भनाइ छ । उनका अनुसार त्यसअघि महासङ्घमा १३८ जना आबद्ध भएका थिए । हाल महासङ्घमा १८५ जना आबद्ध भएको बताइएको छ ।
नेपालका सबै सञ्चारमाध्यमले सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन नसक्नु पत्रकार पलायन हुनुको मुख्य कारण रेहेको बताइने गरेको छ । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरेर यसको अनुगमन गर्ने बताए पनि यो नियम कार्यान्वयन हुन नसक्दा यस्तो समस्या रहने गरेको धेरै पत्रकारको भनाइ छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया