लोकपथ डटकममा साइबर हमला

काठमाडौं – इङ्की क्विल इन्टरनेशनल प्रालिद्वारा सञ्चालित समाचार पोर्टल लोकपथ डटकममाथि पटक पटक साइबर हमला भएको छ । अमेजनको भर्चुअल नेटवर्क प्रयोग गरेर ह्याकरहरुको एक समूहले लोकपथको बेवसाइटमा साइबर हमला गर्दै सेवा अवरुद्ध गरेको हो ।

ह्याकरहरूले हाइब्रिड ब्रूट–फोर्समार्फत लोकपथको साइटलाई नियन्त्रण गर्न सबै उपकरणहरू प्रयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आवश्यक सबै सुरक्षा प्रणाली अपनाइएको भएपनि साइबर आक्रमण भएको हो । यसमा चिनियाँ ह्याकरहरु संलग्न रहेको प्रारम्भिक आशंका गरिएको छ ।

लोकपथका सेवाहरू अवरूद्ध गर्न अनलाइन प्रणालीमा प्रवेश गरी डाटा नष्ट गर्ने उद्देश्यका साथ उनीहरु सक्रिय रहेको आईटी विज्ञहरुले बताएका छन् ।

स्वतन्त्र पत्रकारिता गरिएको लोकपथको वेबसाइटलाई निशाना बनाउँदै बारम्बार गरिएको हमलाप्रति मिडियाले आपत्ति जनाउँदै दोषीमाथि कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोलाई अनुरोध गरेको छ ।

समाचार पोर्टलमाथि बारम्बार भएको हमलाप्रति साइबर ब्यूरोलाई मौखिम जानकारी गराइसकिएको र आजै लिखित उजुरीको तयारी गरिएको छ । प्रहरीको साइबर ब्यूरोले यसबारे गम्भीरता जनाउँदै अनुसन्धान अघि बढि सकिएको जनाएको छ ।

यसबाट लोकपथ डटकमका प्रयोगकर्ता, पाठक, श्रोता, दर्शकप्रति पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौँ । – सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?