काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिवार बेलुका भएको खेलमा लिभरपुलले शानदार जीत हासिल गरेको छ । ३ अंक बटुल्ने क्रममा लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा ७-० को फराकिलो अन्तरले हराएको हो ।
लिभरपुलको जीतमा सब्सचिट्युट खेलाडी मोहमद सालाह र रोबर्टो फर्मिन्होले २-२ गोल गरे भने ताकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले १-१ गोल गरे ।
खेलको तेस्रो मिनेटमा नै मिनामिनोको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । ३५औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा फर्मिन्होले गोल गरेपछि पहिलो हाफ ३-० को अवस्थामा सकिएको थियो ।
दोस्रो हाफको ५२औं मिनेटमा हेन्डरसनले गोल गरेपछि खेलमा लिभरपुलले आरामदायी अग्रता बनाएको थियो । ६८औं मिनेटमा फर्मिन्होले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल ५-० ले अघि बढ्यो । ५७औं मिनेटमा मानेको स्थानमा मैदान प्रवेश गरेका सालाहले फर्मिन्होको गोलमा एसिस्ट गरेपश्चात् ८१औं र ८४औं मिनेटमा दुई गोल गरेपछि लिभरपुलले ७-० को फराकिलो जीत हासिल गर्न सफल भयो ।
जीतसँगै १४ खेलबाट ३१ अंक जोडेको लिभरपुल अंकतालिकाको शीर्ष स्थानमा यथावत रहेको छ भने पराजित क्रिस्टल प्यालेस १८ अंकसहित १२औं स्थानमा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया