३५ वर्षिया महिलाको विभत्स हत्या, आँखा फुटेको अवस्थामा भेटियो शव

काठमाडौं । लमजुङमा बुधवार बिहान ३५ वर्षिय महिलाको विभत्स हत्या भएको खबरले सनसनी मच्चियो । आफ्नै घरमा रगताम्मे अवस्था घाँटीमा सलले कसीएको, आँखा फूटेको अवस्थामा भेटिएको धनमायाको शवले स्थानीय त्रसित बने । आफ्नै घरमा सुतिरहेकी उनको हत्या कसले किन गरेको हो भन्नेबारे २४ घण्टासम्म केहि थाहा नहुँदा स्थानीयमा त्रास थपिएको छ । सुन्दरजार नगरपालिका वडा नम्बर ३ सुँवारा चारघरे दुराडाँडामा ३५ वर्षिय धनमाया भुजेलको विभत्स हत्या भएको हो ।

चारघरे गाउँका ध्रुव भुजेलकी श्रीमती ३५ वर्षीया धनमाया भुजेल (मगर) को बुधवार बिहान हत्या भएको अवस्थामा शब भेटिएको प्रहरीले जनाएको छ ।

के भएको थियो ?

धनमाया भुजेलका श्रीमान् ध्रुव भुजेल सधैजसो बुधवार बिहान ५ : ३० बजेतिर उठेर गाई फर्म हिँडे (ध्रुव स्वाँरा स्थित सुरवी गाई फर्ममा साँझ बिहान सरसफाईको काम गर्छन्) ।  ध्रुव बिहानै काममा जाँदा उनकी श्रीमती सुतिरहेकी थिइन् ।

ध्रुवका कान्छा भाइ राजकुमार गोरु लिनका लागि दाई ध्रुवको घर गए । ‘घरमा पुग्दा ढोका खुल्लै थियो, पिंढीदेखि आँगनसम्म रगतका टाटा थियो । शुरुमा हामी झसङ्गै भयौ ।’उनीहरुको भनाई उदृद गर्दै प्रहरीले दिएको जानकारी अनुसार ढोका खुल्लै भएका कारण राजकुमारले भाउजुलाई बोलाए तर कोही बोलेनन् । राजकुमारलाई घरको ढोका खुल्लै हुनु र आँगनमा रगतका टाटा हुनु सामान्य नलागेपछि उनले छिमेकीहरुलाई खबर गरे ।

रगतको टाटा देखेपछि छिमेकीले प्रहरीलाई खबर गरे । दुराडाँडा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुग्दा गाँउलेहरुले धनमायाको शव आँगनको डिलमा रहेको पुरानो गोवरग्याँसको ट्याँकिमा लुकाएर राखिएको अवस्थामा फेला पारिसकेका थिए ।

मृतक धनमायाको घाँटीमा उनले नै ओड्ने गरेको पछ्यौरा कसिएको थियो र अनुहारमा गहिरो चोट लागेको थियो । साथै उनको एउटा आँखा फुटेको अवस्थामा थियो ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम लगिएको जिल्ला प्रहरी कार्यालय लमजुङले बताएको छ ।

पोखराबाट कुकुरसहितको टोली घटनास्थलमा :

घटनाको प्रकृति गम्भिर भएका कारण जिल्ला प्रहरी कार्यालय लमजुङले पोखराबाट कुकुरसहितको प्रहरी टोली घटनास्थल बोलायो । तर, कुकुरले पनि कुनै क्ल्यू भेट्न सकेको छैन ।

के भन्छ प्रहरी ?

‘घटना शंकास्पद छ, हामी अनुसन्धान गर्दैछौं, शव पोष्टमार्टमका लागि पठाएका छौँ ।’ जिल्ला प्रहरी कार्यालयका प्रमुख गंगाबहादुर थापाले लोकपथलाई भने ।

‘पोष्टमार्टमको रिपोर्ट आउन १-२ दिन लाग्ने र पोष्टमार्टम रिपोर्ट आएपछि केही क्लु भेट्न सकिने’ थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?