पार्टीभित्र देखिएको अन्तरविरोधले एकता र सरकारको भविष्यमाथि कुनै असर गर्दैन : विष्णु पौडेल

काठमाडौं । अर्थमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले पार्टी भित्र देखिएको अन्तरविरोधले एकता र सरकारको भविष्यमाथि कुनै असर नपर्ने बताएका छन् ।

मंगलवार बुटवलमा कान्ति माध्यमिक विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै पौडेलले केही व्यक्ति नेकपामा विग्रह ल्याउने र एकतामा भाँजो हाल्ने काममा उद्धत भएको आरोप लगाउँदै त्यस्तो नगर्न समेत आग्रह गरेका छन् ।

साथै पौडेलले केपी ओली नेतृत्वको सरकारले पाँच वर्ष समय अवधीको पूर्ण कार्यकाल पूरा गर्ने र निर्वाचनका बेला गरेका प्रतिवद्धता समेत पुरा गर्ने दाबी गरेका छन् ।

साथै नेकपाको सरकारलाई कमजोर बनाउन खोज्ने प्रयास सबै असफल हुने र केपी ओली नेतृत्वमा नै ५ वर्षे कार्यकाल पुरा उनले उनले दाबी गरेका छन् ।

‘नेकपाको एकता पनि भाँडिदैन र केपी ओली नेतृत्वको अहिलेको सरकारले पनि पूरा कार्यकाल पूरा गर्छ।’ उनले भने ।

आफ्नो निर्वाचन क्षेत्र समेत रहेको बुटवललाई प्रदेशको राजधानी नभइ देशकै केन्द्र बनाउन लागि परेको उनले बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले १० वर्षअघि र अहिलेको बुटवलको तुलना गरेका छन् । बुटवलमा विकासका कामहरु तीव्र रुपमा अघि बढेको बताउँदै उनले आगामी १० वर्षभित्र बुटवलमा आर्थिक, शैक्षिक, वाणिज्य, व्यापारिक तथा पर्यटन लगायतका विविध क्षेत्रमा ठुलो फड्को मार्ने दाबी गरेका छन् ।

प्रदेश सरकार र संघीय सरकारको समपूरक बजेट अन्तर्गत १३ करोड ६५ लाख रुपैयाँ लागतमा ४ तले ३५ कोठे विज्ञान भवन र ३/३ तले २४/२४ कोठाका दुइटा छात्ररछात्रावास भवनको शिलान्यास गरिएको हो।

शिलान्यास गरिएका भवन आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी अर्घाखाँची लुम्बिनी जेभी विल्डरले ठेक्का सम्झौता गरिसकेको जनाइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?