रौतहट । पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत रौतहटले रौतहट बमकाण्डका आरोपित महताब आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । न्यायाधीश मणिराम न्यौपानेको इजलासले आइतबार आलमलाई थुनामा पठाउने आदेश गरेको हो। महताबलाई आइतबार नै जिल्ला कारागार रौतहट चलान गरिएको छ।
प्रदेश– २ प्रहरी कार्यालयले भारतमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर नेपाल ल्याएको थियो। उनले प्रारम्भिक अनुसन्धानमा दाइ मोहम्मद अफताब आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाइते भएकालाई इँटा भट्टामा जलाइएको स्वीकार गरेका थिए।
आलम आफ्ना दाजु गएको चैत २६ गते पक्राउ परेदेखि नै फरार थिए। पहिलो संविधानसभा निर्वाचनअघि २०६४ चैत २७ राति राजपुर नगरपालिका–४ स्थित आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो।
पूर्वमन्त्री आलम र उनका भाइ महताबलगायत ११ जनामाथि उक्त विस्फोटमा घाइते भएका यमुना गाउँपालिका–४ का त्रिलोकप्रसाद सिंह (पिन्टु) र ओसी अख्तरलाई इटा भट्टामा जिउँदै जलाइएको आरोप छ। मुख्य आरोपित आलम पुर्पक्षका लागि काठमाडौंको नक्खु कारागारमा छन्।
उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसुरमा मुद्दा चलाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया