इन्द्रमाया भन्छिन्, ‘नारायणकाजीलाई मुछेर झुटो प्रचार गरियो’

काठमाडौँ । पूर्वसांसद तथा नेकपाका नेता कमानसिंह लामाकी श्रीमती इन्द्रमाया तामाङले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर मिडियामा अनर्गल झुटो प्रचार गरिएको बताएकी छन् । लामासँगको आर्थिक विवादमा प्रवक्ता श्रेष्ठको नाम मुछिएपछि इन्द्रमायाले शुक्रवार विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेकी हुन् ।

‘श्रीमान एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वसांसद कमानसिंह लामाको असामयिक निधनले म र मेरो परिवार अत्यन्त शोकको अवस्थामा छौं । यही बेला म र लामाबीच भएका केही विवाद र असमझदारीबाट विगतमा सृजित केही घटनाहरुमा हाम्रो पार्टीका नेता एवं प्रवक्ता आदरणीय कमरेड नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर मिडियामा अनर्गल झुटो प्रचार गरिएकोमा म अत्यन्त दुःखी छु ।’ विज्ञप्तिमा भनिएको छ ।

तामाङले विगत २२–२३ बर्षसम्मको वैवाहिक सम्बन्धमा खासै ठूलो अन्तरबिरोध र बैमनस्यता नभएको उल्लेख गर्दै सिन्धुपाल्चोक जिल्लाको गुम्बा गाउँपालिका–५ अन्तर्गत याम्बलिङ हाइड्रोपावरको विषयले केही विवाद उत्पन्न भएको उल्लेख गरेकी छिन् ।

‘सिन्धुपाल्चोक जिल्लाको गुम्बा गाउँपालिका–५ अन्तर्गत श्री याम्बलिङ हाइड्रोपावर प्रा.लि. हामी दुवै जनाको नाममा संचालन गर्नेगरी नेपाल सरकारबाट अनुमति प्राप्त गर्यौं । सो हाइड्रो संचालनका लागि विगत १० बर्षदेखि हाम्रो चलअचल सम्पत्ति, आफन्त इष्टमित्र, पार्टीका साथीहरुको समेत ऋण धन लिएर संचालन गर्ने प्रयत्न गर्यौं । तर न हामीले हाइड्रो संचालन गर्न सफल भयौं, न त साथीभाइको ऋण नै चुक्ता गर्न सक्यौं । त्यहीबेला नेपाल विद्युत प्राधिकरणले हाम्रो अनुमतिपत्र खारेज गर्ने प्रक्रिया थालेपछि पार्टीका साथी र हाइड्रोको समेत अनुभव प्राप्त गर्नुभएको नाताले सुसन कर्माचार्य र अन्य साथीहरुलाई हामीले तपाईहरु पनि संलग्न भएर संस्था बचाइदिनुस् भनेर पटक–पटक अनुरोध गर्यौं । सोही बमोजिम हामी दुवै जनाको सहमतिमा हाम्रो केही सेयर रहनेगरी सबै आर्थिक र कानुनी  प्रक्रिया पु¥याएर हस्तान्तरण गर्यौं’, उनले विज्ञप्तिमा भनेकी छिन् ।

यस्तै उनले विज्ञप्तिमा भनेकी छिन्,  ‘तत्कालीन अवस्थामा मेरो सेयर धेरै थियो र मेरा पति लामाको सेयर थोरै थियो । अन्य ब्यक्तिको सेयर पनि थियो । हामीले संचालन गर्न नसक्दा साथीभाइको ऋणले हाम्रो आर्थिक अवस्था टाट पल्टिने र हाम्रो राजनीतिक र सामाजिक जीवन समेत सिद्धिने अवस्थामा पुगेको बेला सुसन कर्माचार्य लगायतका साथीहरुको कम्पनीले हाम्रो उद्धार नै गर्यो ।’

उनले नारायणकाजी श्रेष्ठ राजनीतिक अभिभावक भएको उल्लेख गर्दै श्रेष्ठले आर्थिक पारदर्शीता र अनुशासनको बारेमा सम्झाएको विज्ञप्तिमा जनाएको छ । सोही कुरालाई जोडेर श्रेष्ठको राजनीतिक जीवनलाई बदनाम गर्ने निहीत स्वार्थपूर्ति गर्ने केही ब्यक्ति वा संस्थाहरु लागिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?