नागढुङ्गा-नौबिसे-मुग्लिन सडकखण्ड : कहाँ – कहाँ बन्दैछन् ४ वटा पुल ?

काठमाडौं – मन्त्रिपरिषद् बैठकले नागढुङ्गा – नौविसे – मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने ४ वटा पुल निर्माणको लागि काम अघि बढाउने निर्णय गरेको छ ।

गत मंसिर १८ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सुनाउँदै हिजो (बुधवार) सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नौबिसे – मुग्लिन खण्डका खहरे खोला, चिरौंदी खोला, गोमती खोला र हुग्दी खोला गरी जम्मा ४ वटा पुलहरु निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।

मंसिर १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले अन्य के निर्णय गरेको थियो ? 
ग्रामीण उद्यम तथा आर्धिक विकास आयोजना सञ्चालन गर्न विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर ८० मिलियन करिब ९ अर्ब ३८ करोड रुपैयाँ सुहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बंगलादेश सरकारसँग पचास हजार मेट्रिकटन युरिया मल सरकार–सकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।

सोही दिन बसेको बैठकले केही सचिवहरुको पदस्थापन गर्ने सम्बन्धमा समेत निर्णय गरेको छ ।

हिजो (बुधबार ) सञ्चारमन्त्री गुरुङले मंसिर १५ गते, मंसिर १८ गते र मंसिर २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?