काठमाडौँ । द भ्वाइस अफ नेपाल सिजन–३ को डिजिटल अडिसन सुरु भएको छ ।
कोरोना भाइरस ‘कोभिड- १९’ महामारीको बीच शुरु भएको डिजिटल अडिसन मा १६ बर्ष उमेर पुगेका युवादेखि ४५ बर्षसम्मका प्रतिभाहरु सहभागी हुन पाउनेछन् ।
बहुप्रतिक्षित रियालिटी सोको तेस्रो सिजनका लागि हिजो (शनिवार)बाट डिजिटल अडिसन सुरु भएको हो । द भ्वाइस अफ नेपालको प्लेटमर्फमार्फत् सांगीतिक करियर निर्माण गर्न चाहने प्रतिभाहरुले आफ्नो गीतको भिडियो रेकर्ड पठाई यसमा आवेदन गर्न सक्नेछन् ।
अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका बिदेशी वा बिदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् ।
द भ्वाइस अफ नेपाल सिजन ३ को डिजिटल अडिसनमा सहभागी हुन द भ्वाइस अफ नेपालको अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्नेछ ।
फारम भरेपछि मोबाइलमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्नेछ ।
आफ्नो रेकर्ड पठाएपछि अडिसनमा सहभागीताको प्रमाणस्वरुप आवेदनकर्ताले एउटा कोड प्राप्त गर्नेछन् ।
मोबाइल एपमार्फत् अडिसन दिन असमर्थ भएको खण्डमा विभिन्न सामाजिक सञ्जालमा रहेका द भ्वाइस अफ नेपालका पेजमार्फत् पनि अडिसनमा सहभागी हुन सकिने आयोजकले जनाएको छ ।
यसका अलावा प्रयोगकर्ताले फेसबुकमा रहेको द भ्वाइस अफ नेपालको पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सक्नेछन् ।
कुनैपनि डिजिटल माध्यममा पहुँच नहुने प्रतिभाहरु पनि यो अडिसनबाट बञ्चित हुनुपर्ने छैन।
इन्टरनेटको पहुँच नभएका प्रयोगकर्ताले द भ्वाइस अफ नेपालको उत्पादन टीमको फोन नम्बर ९८४१५३४४२८ मा फोन गरेर पनि अडिसनका लागि समन्वय गर्न सक्नेछन् ।
आवेदकहरुले सोही नम्बरको भाइवर वा ह्वाट्सएपमा पनि भिडियो रेकर्ड गरी पठाएर अडिसनमा सहभागी हुन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया