काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक निर्धारित समयभन्दा ४० मिनेट ढिला गरी शुरु भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डसहितका अरु नेताहरु पुगे पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली नपुगेका कारण बैठक ढिलो गरी शुरु भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने जानकारी दिएसँगै नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि ओली बिना नै बैठक सुरु भएको हो ।
पछिल्लो ६ महिनादेखि चुलिँदो अविश्वास र सतहमा आएका झगडाका कारण फुटको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आजका लागि तय गरिएको थियो ।
पार्टीका दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय बैठक असफल भएसँगै नेकपाभित्रको विवाद झन् पेचिलो बन्दै स्थायी कमिटी बैठकमा प्रवेश हुँदैछ । त्यसैले आजको बैठकलाई निकै अर्थपूर्ण मानिएको छ ।
हिजो (शनिवार) बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी कमिटीलाई दिएसँगै आज धुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक बसेको हो ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै यसअघि सचिवालय बैठकमा ल्याएको ‘प्रस्ताव’ मा छलफल हुने बताइएको छ ।
धुम्बाराहिमा विशेष सुरक्षा :
नेकपाको स्थायी कमिटी बैठकलाई लक्षित गर्दै पार्टी कार्यालय धुम्बाराही क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
धुम्बाराहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्बन्धित नेताबाहेक सञ्चारकर्मीलाई समेत पार्टी कार्यालयमा प्रवेश दिइएको छैन ।
समाधानको सुत्र निस्केला ?
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पूर्व निर्धारित कार्यतालिकाअनुसार आजका लागि तय भएको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने निर्णय भएको हो । प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकले विवादको निरुपण गर्ने विश्वास लिइएको छ ।
गुटगत भेला गरेर पहिल्यै निर्णय गरेर सचिवालय बैठक बोलाउनु र एजेण्डाबिना बैठक बसेर हुर्मत लिने प्रयास गर्नु ‘बेकार’ हुने भन्दै यसअघि पनि ओलीले सचिवालय बैठकमा जान आनाकानी गर्दै आएका थिए ।
लोकपथसँगको कुराकानीको क्रममा ओलीनिकट स्रोत भन्छ , “सचिवालय बैठकमा लामो समयदेखि विवादमै रहेको विषयलाई तल्लो कमिटीमा लैजानु, बहुमतको सहारामा बलमिच्याई गरिएको यो अवस्थाले अब स्थायी कमिटीमा पनि अल्पमत बहुमत भएर अझै तल्लो कमिटी केन्द्रिय कमिटीमा जाने अवस्था आए पार्टीलाई गम्भीर बाटोतिर लैजाने खतरा बढेको छ ।”
तर प्रचण्ड निकट स्रोतको दाबी अर्कै छ । कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालनिकट नेताहरुका अनुसार स्थायी कमिटीले वर्तमान समस्याको जड फूकाउने र निकास दिने सम्भावना छ । (file photo)
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् :
नेकपा स्थायी कमिटी बैठक आज बस्दै, समाधानको सुत्र पहिल्याउन सक्ला ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया