नेकपाको अन्तर्कलह अझै जटिल, ओलीलाई फेरि अल्टिमेटम

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तर्कलह अझै जटिल बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नबस्ने अडान लिएपछि विवाद थप चुलिएको हो ।

मंगलबारको सचिवालय बैठकमा निकै चर्काचर्की परेपछि बुधबार दिउँसोका लागि सचिवालय बैठक बोलाइएको थियो । तर ओलीले अडान दोहो¥याउँदै बैठकमा आउन नमानेपछि शीर्ष नेताहरुबीचको छलफलपछि एक घण्टा ढिलो गरी बैठकमा आउन ओली सहमत भएका थिए ।

तर, बैठक शुरु भएपछि उनी बालुवाटारमै भएर पनि बैठकमा सहभागी नभएपछि नेताहरुले अध्यक्ष ओलीमाथि असन्तुष्टि जनाएका छन् । बुधबार राजनीतिक प्रतिवेदनमाथि छलफलको प्रक्रिया अगाडि नबढेपछि मंसिर १८ गते बसेको स्थायी समितिको बैठक स्थगित गर्दै २१ गतेका लागि सारिएको छ ।

ओलीको अनुपस्थितिकै कारण पूर्वनिर्धारित स्थायी समिति बैठक प्रभावित बनेको छ । पार्टीभित्र विवाद चर्किंदै गएको र अध्यक्ष ओलीले बैठकमा सहभागिता जनाउन नै आनाकानी गरेपछि मंसिर १८ गतेका लागि तय भएको स्थायी समिति बैठक प्रभावित बनेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबारको बैठकमा आउने सहमति जनाएर पनि अध्यक्ष ओली बैठकमा सहभागी नभएको बताए । बैठकमा पनि ओली नआएपछि सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । ओलीलाई सो मितिसम्मको अल्टिमेटम दिइएको छ ।
यसअघि पनि सचिवालय बैठक बोलाउन नेताहरुले गरेको लिखित आग्रहलाई बेवास्ता गरेपछि अध्यक्ष ओलीलाई प्रचण्डसहित पाँचजना सचिवालय सदस्यले बैठकमा सहभागी हुन तीन दिनको अल्टिमेटम दिएका थिए । ओली यसअघि पनि पार्टीभित्र विवाद बढ्दै गएपछि सचिवालय बैठकमा सहभागी भएका थिए । नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?