ब्राजिलका राष्ट्रपति बोल्सोनारोले कोरोनाको खोप नलिने

ब्रासिलिया । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोनाभाइरसविरुद्धको खोप प्रयोगमा आएपनि आफूले भने प्रयोग नगर्ने घोषणा गरेका छन् ।

आफ्नै सरकारले त्यसलाई ग्रहण गर्ने निर्णय गरेपनि आफूले त्यसलाई ग्रहण नगर्ने उनले बिहीवार घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको भिडियोमा उनले भनेका छन्, “म तपाईहरूलाई भन्छु की म त्यो (खोप) लिन्न । यो मेरो अधिकार हो ।”

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएका मध्ये एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।

मृतकहरुको यो संख्या अमेरिकापछि विश्वमै सवैभन्दा धेरै हो । कोरोनाका कारण भएको मानवीय क्षतिको हिसावले ब्राजिल दोस्रो क्रममा रहेको छ ।

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये दुई लाख ६९ हजार ५७९ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्याको हिसावले दोस्रोमा रहेको भारत भने मृतकहरुको सङ्ख्याका आधारमा तेस्रोमा रहेको छ । भारतमा कोरोनाका कारण मृत्यु भएको भनिएकाहरुको संख्या अहिलेसम्म एक लाख ३५ हजार ७५२ रहेको छ ।

विश्वमै दोस्रो धेरै मानवीय क्षति बेहोरेको मुलुक भएर पनि राष्ट्रपति बोल्सोनारोको अडान गलत भएको भन्दै धेरैले उनको आलोचना गरेका छन् ।

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले गरेको कडाइप्रति उनले असहमति र असन्तुष्टि जनाउदै आएका छन्।

उनले मास्क लगाउनु नपर्ने, सामाजिक दुरी काम गर्नु नपर्ने र कुनै सतर्कताको आवश्यकता नभएको दावी पनि गर्दै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?