मोरङमा कोरोना संक्रमणबाट तीनको मृत्यु

मोरङ । मोरङको दुई शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक भारतीयसहित तीन जना रहेका छन् । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई र नोबेल शिक्षण अस्पताल विराटनगरमा एक जनाको मृत्यु भएको हो ।

विराट शिक्षण अस्पतालमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनुभयो । मृतक वृद्धको गएको कात्तिक २७ गते पोजिटिभ आएको थियो ।

सोही अस्पतालमा भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुधवार भर्ना गरिएकामा बिहीवार पोजेटिभ रिपोर्ट आएको अस्पतालका प्रमुख देवले बताए ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा झापाको गौरादह–८ का ६३ वर्षीय वृद्ध उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि बुधवार अस्पताल भर्ना गरिएकामा बिहीबार पोजेटिभ आएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?