रसुवा । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको काम सामाजिक दूरी कायम गराई जारी राखिएको छ । विद्युत् गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार भोटेकोशीमा बाँध बाध्ने र बालुवा थिग्राउने तीन वटा भूमिगत पोखरीमा ढलान गर्नेकाम तीब्र रूपले अगाडि बढेको हो । एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको चार हजार एक सय पचासी मिटर हेडरेस सुरूङ , विद्युत गृह एवम् ट्रान्सफर्मर राख्ने स्थानको निर्माण पुरा भइसकेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेका कोभिड– १९ को मापदण्ड पालना गराई काम अगाडि बढाइएको आयोजना प्रमुख छवि गैरेले जानकारी दिए । आयोजनाको निर्माण स्थलमा दुई सय २२ नेपाली तथा ६६ चिनियाँ कामदारले कार्यरत रहेका छन। कोरोेना समस्याले सिभिल कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिडब्लुई ले यथेष्ट कामदार भने ल्याउन नसकेको बताइन्छ । सिभिल कामको समग्र प्रगति ७८ प्रतिशत पूरा भएता पनि कोरोना संक्रमणको जोखिमले उपकरण जडान भने हुन सकेको छैन । सो कामको जिम्मा पाएको भ्वाइट इण्डिया कम्पनीले समयमा कामदार ल्याउन नसक्दा उपकरण जडान गर्नेकाम प्रभावित भएको आयोजनाका प्राविधिकहरूले जनाएका छन् ।
कोरोनाको समस्या देखाउँदै सो कामको जिम्मा लिएको सो कम्पनीले भूमिगत संरचनाबाट निर्माण भइरहेको आयोजनामा ९ विद्युत् गृहको पानी बाहिर पठाउने ३४ मिटर टेलरेस सुरूङ छेड्न र सर्चटैँक मात्र निर्माण गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । १३ अर्ब ६४ करोडको लागतमा सन् २०१३ देखि आयोजनाको निर्माण शुरूआत भएको थियो । आयोजना निर्माणमा ढिलाई भएपनि ऊर्जा उत्पादनको कार्य दीगो र भरपर्दो हुने निर्माणमा सम्लग्न प्राविधिकले बताएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया