‘घाउटा’ जोगाउँदै दार्मा गाउँपालिका

सल्यान । जिल्लामा पुराना लोकसंस्कृति लोप हुँदै गइरहेको बेला दार्मा गाउँपालिकाले भने स्थानीय कला संस्कृतिलाई संरक्षण गर्न पहल थालेको छ ।

पुरना पुस्तामा रहेका पुरना तथा मौलिक लोक संस्कृति लोप हुने खतरा हुन थालेपछि गाउँपालिकाले यसको संरक्षण गर्न शुरु गरेको हो ।

गाउँपालिकाले दार्मा तथा आसपासका क्षेत्रमा जनजिब्रोमा रहेका स्थानीय ‘घाउटा, बिहेगीत, झारी र गरन्ठालगायतका लोकसंस्कृतिको जगेर्नाका लागि खोजी तथा प्रकाशन गर्न थालेको हो ।

धेरै मौलिक तथा लोकसंस्कृति संरक्षणको अभावमा लोप हुन थालेपछि यसको संरक्षणका लागि पहल थालिएको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले जानकारी दिए ।

“गाउँपालिकाभित्र तथा आसपासका क्षेत्रमा स्थानीय थुप्रै मौलिक लोकसंस्कृति रहेका छन् त्यसलाई नयाँ पुस्ताले सहजरुपमा अङ्गीकार नगरेकै कारण लोप हुने अवस्था आउन थालेपछि यसको संरक्षणका लागि पहल थालेका हौँ”, अध्यक्ष केसीले भने । जनजिब्रोमा रहेका र पुस्तान्तरण हुँदै आएका लोकगीत र लोकसाहित्यलाई पश्चिम नेपाल र विशेषगरी सल्यानमा ‘घाउटा’ भनेर चिनिन्छ ।

अहिले पुरानो पुस्ता र नयाँ पुस्ताबीचमा संवादहीनताको अवस्था आएकाले पनि पुराना कला तथा संस्कृतिको संरक्षण आवश्यक भएको सल्यानी साहित्यकार वीरेन्द्र शाहीले बताए ।

गाउँपालिकाले भौतिक पूर्वाधारलाई मात्र नभएर मानवीय विषयलाई पनि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने साहित्यकार डा पूर्णपङ्कज भण्डारीले बताए । “जिल्लामा धेरै मौलिक, कलासंस्कृति रहेका छन् यसलाई संरक्षण नगर्दा धेरै संस्कृति लोप हुने अवस्थामा पुगेका छन्, यसको संरक्षण तथा संवर्द्धन  सरकारले नै संरक्षणको पहल गर्नुपर्ने आवश्यकता छ”, डा भण्डारीले भने ।

गाउँपालिकाले मौलिक संस्कृतिको संरक्षण गर्नका लागि ‘दार्माली घाउटा’ नामक पुस्तक सार्वजनिक गरेको छ ।

पुस्तकमा दार्मा तथा आसपासका क्षेत्रमा रहेका र स्थानीय ठेट भाषामा गाइने घाउटा, बिहेगीत, झारी र गरन्ठालगायतलाई स्थानीयवासी हीरालाल केसीले सङ्कलन गरेका छन् ।

जिल्लाको बनगाड कुपिण्डेमा रहेको बनगाडी टप्पा, ठाडीभाका, सोरठी नाच लगायतका कला संस्कृति लोप हुने अवस्थामा पुगेपछि यसको संरक्षण आवश्यक रहेको र संरक्षण गर्नुपर्ने साहित्यकारको माग रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?