प्रशासन तोडफोड गर्ने नौ जनाविरुद्ध सार्वजनिक मुद्धा

कर्णाली । जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गर्ने नौ जनाविरुद्ध सार्वजनिक मुद्धा लगाइएको छ । हिमा गाउँपालिका–१ जुम्ला मोफ्ला गाउँका १६ वर्षीय किशोरी बबिता रोकायको हत्यामा संलग्नलगायत शंकास्पदको अनुसन्धान गर्नुपर्ने दबाब दिँदै आएका पीडित पक्ष मोफ्लाका स्थानीयवासीले शुक्रबार अपरान्ह प्रशासन कार्यालयमाथि अन्धाधुन्धा ढुंगामुढा गरेका थिए । प्रशासनमाथि तोडफोड गर्ने नौजनालाई सार्वजनिक मुद्धा लगाइएको हो ।

मुद्धा लगाइएका नौ जनासहित स्थानीयको ढुङ्गा प्रहारबाट प्रशासन कार्यालयको प्रजिअ कक्ष, निवास, प्रहरी विट र मालिका मन्दिर तोडफोड हुँदा आठ लाख बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।

“पीडित पक्ष प्रशासन गेट अघि आएपछि हामीले नेतृत्व गरेर आएका व्यक्तिलगायत नौ जनालाई वार्ताका लागि भित्र बोलायौं”, प्रजिअ थापाले भने, “तर एकैछिन म लगायत जनपथ र सशस्त्रको डिएस्पीमाथि नै ढुङ्गा बर्साए, हामी बच्यौं तर ढुंगा प्रहारबाट एक जनपथ र तीन सशस्त्र प्रहरी घाइते भएका छन् ।”

घटनामा सुनियोजित भएको जनाउँदै उहाँले त्यसमा संलग्न नौ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक मुद्धा लगाइएको बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतसिंह राठौरले सार्वजनिक सम्पतिमाथि तोडफोड गरिएकाले सार्वजनिक अपराधअन्तर्गतको मुद्धा चलाइएको जानकारी दिए । जसमा चार जनालाई नियन्त्रणमा लिइएको र पाँच फरार रहेका प्रहरी निरीक्षक राठौरले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?