पाँचथर । तीन स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएसँगै पाँचथरबाट भारतसँगको सीमासम्म सुरक्षाकर्मीको उपस्थिति भएको छ ।
भारतसँग ४४.८ किलोमिटर सीमा जोडिएको पाँचथरमा याङवरक गाउँपालिकामा पर्ने चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा सुर्केथाममा बिओपी स्थापना भएपछि सीमासम्म सुरक्षा निकायको उपस्थिति पुगेको हो । पाँचथरको याङवरक–१ लामपोखरी सुकेढापमा बिओपी, तोरीफूलेको उद्घाटन गरिएको छ ।
उक्त बिओपीको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल गिरीले संयुक्तरूपमा उद्घाटन गरे। यसअघि गत भदौ अन्तिम साता याङवरककै चिवाभञ्ज्याङ तथा फालेलुङको सुर्केथाममा बिओपी स्थापना भएको थियो ।
प्रहरी वरिष्ठ उपरीक्षक गिरीले नागरिकलाई सुरक्षित महशुस गराउन सीमासम्म सशस्त्र प्रहरीको उपस्थिति महत्वपूर्ण हुने बताए । सीमास्तम्भको सुरक्षा, नेपाली भूमि मिचिनबाट रोक्ने, अवैध प्राकृतिक दोहन नियन्त्रण, वन पैदावार तथा जडिबुटी संरक्षण, अवैध चोरी, शिकारी, निकासी तथा सीमालाई आधार बनाइ हुने गैरकानूनी तथा आपराधिक गतिविधि रोक्न बिओपी सफल हुने गिरीको विश्वास छ । मन्त्रिपरिषदको २०७६ मङ्सिर २९ को निर्णयअनुसार पाँचथरका चारमध्ये तीन स्थानमा बिओपी स्थापना भएको हो ।
अध्यक्ष घिमिरेले बेलाबखत भारतीय पक्षबाट सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न बिओपी स्थापना निर्णायक काम भएको बताए । भारतसँग सीमा जोडिएको नेपाली भूभागका जैविक विविधता, पर्यापर्यटनका दृष्टि अति महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष घिमिरेले यहाँका प्राकृतिक वनस्पति, जडिबुटी र वन्यजन्तु संरक्षणमा बिओपी स्थापनाले सहयोग पुग्ने जनाए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया