दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको पहलमा पर्यटन मन्त्रालयको टोली तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगेको छ । पछिल्लो समय चर्चामा रहेको मानहुँकोटमा पर्यटनको सम्भाव्यता अध्ययनका लागि पर्यटन, उद्योग तथा वातावरण मन्त्रालयका कार्यक्रम संयोजक जुद्ध गुरुङको नेतृत्वमा एक टोली मानहुँकोट आएको हो ।
उक्त टोलीले व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र सोही वडाका अध्यक्ष मोहनकुमार श्रेष्ठसँग मानहुँकोटको बारेमा जानकारी लिएको छ । मन्त्रालयका कार्यक्रम संयोजक गुरुङले पर्यटनमा मानहुँकोटको भविष्य उज्ज्वल रहेको बताए। नगरपालिकाको सक्रियतामा केही विकासका काम मानहुँकोटमा शुरु भइसकेकाले प्रदेशको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता जनाए ।
“तर अझै मानहुँकोटमा गर्नुपर्ने धेरै कुराहरु छन्, यसको विकासका लागि गुरुयोजना बनाएर अगाडी बढ्नुपर्छ,” उनले भने, “तबमात्र पर्यटनको दिगो गन्तव्य बन्न सक्छ ।” गण्डकी प्रदेशका विभिन्न ठाउँका एक सय १० गन्तव्य विकास गर्ने प्रदेश सरकारको योजना रहेको र मानहुँकोटलाई पनि त्यसभित्र समेटेर लैजाने गुरुङले प्रतिबद्धता जनाए । मानहुँकोटमा तत्कालै केही पूर्वाधार निर्माणका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गरिने सो अवसरमा उनले जानकारी दिए।
सो अवसरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले मानहुँकोटको विकासका लागि नगरपालिकाले गुरुयोजना निर्माण गर्न लागेको जानकारी दिए । साथै यहाँ रहेका जग्गाहरुको एकीकृत व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्य सहित जग्गाको अध्ययन समेत भइरहेको न्यौपानेले जानकारी दिए । मानहुँमा आगामी दिनमा बन्ने भौतिक संरचनालाई मौलिक बनाउने गरी नगरपालिकाले सिफारिस गर्ने नगरप्रमुख न्यौपानेले बताए । व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले नगरपालिकाले मानहुँको विकासका लागि काम गरिरहेको अवस्थामा प्रदेश सरकारले पनि चासो दिएकाले यसको थप प्रबद्र्धन हुने बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया