सकियो तिहार, के छठलगत्तै कडा निषेधाज्ञा हुँदैछ ?

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सकिएको छ । अब छठको तयारी शुरु भएको छ । यसवर्ष मंसिर ५ गते छठ पर्व परेको छ । यसैबीच केहि दिनअघि उपत्यका मेयर फोरमले चाडपर्व तिहार र छठ पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेका कारण अब फेरि पनि निषेधाज्ञामा कडाई गरिँदैछ भन्ने प्रश्नहरुसँगै संशय पैदा भएको छ ।

सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा उपत्यका मेयर फोरमका पदाधिकारीहरुले निषेधाज्ञा कडाई गरिनुको विकल्प नभएको बताउँदै यहि स्थितीमा राखे अझ भयावह हुनसक्ने बताएका छन् । पछिल्लो समय उपत्यकाका तीनवटै जिल्लामा सक्रिय संक्रमितको संख्या बढीरहेको छ । अस्पतालमा राख्न बेड अभाव र अनय उपकरणको पर्याप्तता नभएका कारण होम आइसोलेसनमा बस्नेहरुको संख्या करिब तेब्बर छ ।

सक्रिय संक्रमितको संख्या दिनप्रतिदीन बढ्नु, अस्पतालहरुले आवश्यक बेड र उपकरणको अभाव भएको भनिरहनु, चिसोयाम बढेसँगै अन्य रोगहरुको प्रकोप बढ्न सक्नु, चिसोमा कोरोना भाइरस ‘कोभिड – १९’ को जोखिम अझै बढ्न सक्नु आदीजस्ता कारणले बढ्दो संक्रमणको दर र यसको जोखिम कम गर्नको लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठ बताउँछन् ।

तिहार छठ लगत्तै उपत्यकामा बढीरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने सम्बन्धमा गम्भिर छलफल भएको छ । उनले थपे उपत्यकामा बढीरहेको संक्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता छ । यसमा दुईमत छैन ।

यो विषम परिस्थितीकाबीच महान् पर्व दशैँ र तिहार सकिएको छ । अब छठ पर्वको माहौल शुरु भएको छ । यो पर्व ताल तलाउमा मनाईने हुँदा अझै भिडभाड र जोखिम हुनसक्छ । त्यसैले हामीले ध्यान दिनुपर्ने कुराहरु धेरै छन् । यदि तपाई पनि काठमाडौं उपत्यका वा अन्य घना बस्ती भएका शहरबाट गाउँ फर्कँदै हुनुहुन्छ वा छठ मान्नको लागि कतै यात्रा गर्दै हुनुहुन्छ भने तपाईको लागि उपयोगी हुने केहि टिप्सहरु लोकपथले विज्ञसँग लिईएका अन्तर्वार्ता र स्वास्थ्य मन्त्रालयले दिएको जानकारीबाट संकलन गरि यहाँ प्रस्तुत गरेको छ ।

-सकेसम्म भेटघाटलाई साँघुरो बनाउनुहोस् ।

-आवश्यक बाहेक अन्यत्र  भेटघाट नगर्नुहोस् ।

– यात्राका दौरानमा होस् वा आफन्तको घरमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्नुहोस् ।

-भौतिक दूरी अनिवार्य कायम गर्नुहोस्।

-नियमित रुपमा मिचिमिची हात धुनुहोस्, यदी साबुनपानीको उपलब्धता नभएमा सेनिटाईजरको प्रयोग गर्ने गर्नुहोस् । (एउटा सेनिटाईजर साथैमा राखेको राम्रो)

-खोक्दा वा हाच्छ्यूँ गर्दा पनि मास्क नखोल्नुहोस्, यदी मास्क छैन भने कुहिनाले मुख ढाक्नुहोस् ।

-मानिसहरु कुराकानी, गफगाफ, हेलमेल धेरै हुँदा संक्रमण सर्न वा सारिन सक्ने भएको कारण यसपटक आम्नेसाम्ने भन्दा पनि साईडमा दूरी कायम गरी बस्नुहोस् ।

-हाम्रो आँखाले नदेखिने किसिमका सुक्ष्म भाइरस हावामा पनि हुन्छन् । ति जुनसुकै बेला हाम्रो श्वासप्रश्वासका माध्यमबाट शरीरमा प्रवेश गर्छन् । त्यसैले भीडभाडमा सर्जिकल मास्कको उचित प्रयोग गर्नुहोस् ।

-एटिएमबाट रुपैयाँ झिक्न जाँदा पनि निकै सावधानीपूर्वक उपकरणहरु छुनु चलाउनुपर्छ । फलामे ढोका वा स्टीलका कुर्सीहरुमा भाइरस लामो समयसम्म रहिरहन सक्छ ।

-फलफूल पसलमा गएर विभिन्न फलफूल छामछुम गर्ने नाप्ने जाँच्ने काममा धेरै समय लगाउनु हुँदैन । आफ्नो काम सकाएर छिटोछरितो भीडभाड नभएको स्थानमा जानुहोस् ।

-यदि सार्वजनिक सवारी प्रयोग गर्दै हुनुहुन्छ भने त्यसको ढोका सिटको छेउमा धेरै जनाले छोएको हुनसक्छ यस्ता सार्वजनिक वस्तुहरुको प्रयोग गर्दा हातमा ग्लोब्स लगाउने र सतर्क र अझ सचेत हुनुपर्छ ।

-गाडीमा यात्रा गर्दा संक्रमण नभएको मान्छेलाई पनि संक्रमण सर्न सक्छ । यो कुरालाई मनन गर्नुहोस् ।

-यदी तपाईले भेट्न खोज्नुभएको मानिसमा जटिल किसिमको स्वास्थ्य समस्या छ, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति छन् भने, औषधी सेवन गरिरहेको व्यक्ति हो अथवा दीर्घ रोगी हुन्, भर्खरै अप्रेसन गरेका बिरामी भए,ज्येष्ठ नागरिक भए अझै ख्याल गर्नुपर्छ । विश्वमा हालसम्म कोरोनाको कारण हुने मृत्युदर सबैभन्दा धेरै यो उमेर समूहमा छ।

यस्ता व्यक्तिहरुसँग कुरा गर्दा अझै सर्तक र सावधानी अपनाउनुपर्छ । यदि तपाईमा लक्षणबिनाको कोरोना भाइरस संक्रमण छ तर असर देखाएको छैन भने तपाईबाट कोरोना सरेर लक्षण देखिन थालेकाहरुमा अझै समस्या थपिन्छ । यसकारण तपाईमा लक्षण नदेखिकनै कोरोना भाइरस शरीरमा हुन सक्दछ ।

-तिहार सकिएको छ । चाडपर्वमा जुवा तास खेल्न चलन पुरानो हो तर यसपटक जुवातास खेल्नु भनेको संकटलाई निम्तो दिनु हो। यो क्रियाकलाप यसपटक नगर्नु नै बुद्धिमानी हुनेछ । तास खेल्दा तासमा थुक लगाउने र हो–हल्ला गर्ने चलन हुन्छ । यसो संक्रमणको जोखिम बढ्छ ।

जसरी ‘सोह्रश्राद भर्चुअल रुपमा गरियो, दशैँ,तिहारलाई सांस्कृतिक निरन्तरता मात्रै दिने हिसाबले अघि बढाईयो त्यसरी नै सकेसम्म मानिसको भीडभाडबिना नै तिहार,नेपाल सम्वत् र छठ पर्व मनाउनुपर्छ ।

-लामो समयमा आफन्तसँग वा साथीभाईसँग भेट हुने हुँदा एकछिन भेला भएर के भो त भन्ने सोचाइ राख्नुभयो भने एकछिनले निम्त्याउने विपद् निकै घातक सिद्ध हुनसक्छ ।

-श्वासप्रश्वासबाट बाहिरीने थुकका छिटा बालबालिकाको मुखमा पर्न सक्छ । नजिकमा बसेर खाना खाने चलन पनि यो पटक बन्द नै गर्नुपर्छ । विज्ञहरु भन्छन् – बरु ज्येष्ठ नागरिकलाई सम्मान दिने हो भने यो महामारीकोबीच धेरै भेटघाट नगरौँ । जोखिम नबढाऔँ ।

-गाउँघरमा पूजापाठ गर्दा सबै जना एकैठाउँमा भेला हुँदा विभिन्न समुदाय, स्थान र व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरु एकैठाउँमा भेला हुन्छन् । यसो गर्दा पनि कोरोनाको जोखिम बढ्छ ।

-कोरोनाको कारण लाखौँ मानिसले ज्यान गुमाएका छन् । करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसकारण सचेत भएर मात्रै चाडबाडलाई रिन्तरता दिऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?