गलकोट । बागलुङ जिल्लामा रहेका अवैध क्रसर उद्योग व्यवस्थित गर्न थालिएको छ । जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुङ्गानाको संयोजकत्वमा रहेको नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले मङ्गलवार गरेकोे अनुगमनमा बागलुङका दुई अवैध क्रसर उद्योग बन्द लगाइएको छ ।
मापदण्ड विपरीतका दुई क्रसर उद्योगलाई मापदण्डमा आउन आग्रह गर्दै तत्कालका लागि बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी तथा समितिका सदस्य सुरेश न्यौपानेले जानकारी दिए। “हामीले जिल्लाका क्रसर उद्योग व्यवस्थित गर्न थालेका थियौँ, हिजै गृह मन्त्रालयको समेत स्पष्ट निर्देशन आइसकेको छ” प्रजिअ न्यौपानेले भने, “दर्ता भएर राज्यको नीतिभन्दा बाहिर रहेका दुई क्रसर उद्योगलाई मापदण्डमा नआउन्जेल बन्द गरिएको छ, यस्तो अनुगमन जिल्लाभर चल्नेछ ।”
जिल्लाको गलकोट नगरपालिका–६ स्थित सिद्ध भैरव क्रसर उद्योग र सोही नगरपालिका–११ को ढोरपाटन क्रसर उद्योगलाई तत्कालै बन्द गर्न निर्देशन गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार उक्त उद्योग कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएपनि कर चुक्ता नभएको, नवीकरण नभएको, नदीको नजिकै रहेको पाइएकाले मापदण्डमा आउन आग्रहसहित बन्द गर्न भनिएको हो । समितिका सदस्यहरु प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय तहको प्रमुखसहितको अनुगमनका क्रममा मापदण्ड बाहिरका दुई उद्योग बन्द गर्न भनिएको हो ।
सो समितिले बडिगाड तथा ढोरपाटन नगरपालिकाको नदी क्षेत्रमा अवैध उत्खनन् भइरहेको स्थानको समेत अवलोकन गरेको छ । समितिले बडिगाड गाउँपालिका–७ कालीदहमा अवैध उत्खनन् गरी राखिएको गिटी तथा बालुवासमेत नियन्त्रणमा लिएर बिक्रीवितरणमा रोक लगाएको छ । स्थानीय तहको समन्वयमा नदीजन्य पदार्थ रोक लगाइएको हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया